बैतडीमा शिशुको मृत्युपछि क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध

पुस ११, २०८१

मनोज बडू

After the death of an infant in Baitadi, the road was blocked demanding compensation

दार्चुला — बैतडीको डिलासैनी गाउँपालिकामा एक शिशुको मृत्यु भएपछि क्षतिपूर्तिको माग राखी स्थानीयले सडक अवरुद्ध पारेको छ । बुधबार दिउँसो खोप लगाएका शिशुको रातिको समयमा शङ्कास्पद मृत्यु भएपछि स्थानीयले गोकुलेश्वर–गन्ना–लटिनाथ सडक अवरुद्ध पारेका हुन् । 

डिलासैनी गाउँपालिका–२ छेपट्टाका मुकेश रानाका दुई महिने छोरा आदर्शको शङ्कास्पद मृत्यु भएको स्थानीय ध्रुव रानाले बताए । उनले मृतक शिशुलाई बुधबार दिउँसो १२ बजेको समयमा डिलासैनी–३ स्थित सिमार बर्थिङ सेन्टरमा खोप लगाएका थिए । खोप लगाउँदा आदर्श बिरामी भएपछि उपचारको लागि डडेलधुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

ध्रुवका अनुसार आदर्शलाई नियमित खोप कार्यक्रम अन्तर्गत डीपीटी दोस्रो डोज र पीसीभीको पहिलो डोज लगाइएको थियो । ओपीभी र रोटा डोज खुवाइएको थियो । त्यसपछि दिउँसो ३ बजेदेखि आदर्शलाई ज्वरो आएको र राति र्‍याल फाल्न थालेपछि उपचारको लागि गोकुलेश्वर अस्पताल लगिएको थियो । त्यहाँ उपचार नभएपछि डडेलधुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले जानकारी दिए ।

सोही विवरणका डोजहरू अघिल्लो दिन पनि केही बालबालिकाहरूलाई लगाइएको र केही समस्या नआएको तर आदर्शको हकमा उक्त घटना भएको विषय शङ्कास्पद रहेको डिलासैनी–३ स्थित रुद्रेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सन्जु बोहराले जानकारी दिए । खोपका कारणले बालकको मृत्यु भएको भन्दै स्थानीयहरूले स्वास्थ्य कार्यालय बैतडीमा पनि जानकारी गराएका छन् । तर, शवको पोस्टमार्टम गरेपछि मात्रै मृत्युको कारण खुल्ने स्वास्थ्य कार्यालयले जनाएको छ । 

बर्थिङ सेन्टरमा लगाएको खोपका कारण बालकको मृत्यु भएको भन्दै सडक अवरुद्ध गरिएको छ । यस घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र मृतक शिशुका आफन्तलाई क्षतिपूर्तिको मागसहित सडक अवरुद्ध गरिएको स्थानीय ध्रुवले जानकारी दिए ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully