आफन्तको बिदाइमा बर्सेनि बग्छ आँसुको भेल

पुस १०, २०८१

मोहन शाही

A flood of tears flows every year at the farewell of a relative

केदारअखडा, डोटी — गत आइतबार बिहान ७ नबज्दै से१ज १५१७ नम्बरको बोलेरो जिप दानबहादुर बोहराको पसलअघि यात्रु कुरेर बसेको थियो । पसलमा केही आगो तापिरहेका त कोही मालसामान किनिरहेका थिए । पसलमा बिहानैदेखिको चहलपहलले पसलधनी दानबहादुरलाई बोल्न समेत फुर्सद थिएन ।

यत्तिकैमा दलित बस्तीबाट मानिसहरूको लस्कर पसलतर्फ लम्कियो । निधारमा रातो टीका लगाएका ८ जना युवाको पछिपछि बालबालिका, वृद्धवृद्धा र महिला कुदिरहेका थिए । उनीहरू थिए– डोटी सदरमुकाम सिलगढीबाट ९ घण्टाको मोटर यात्रापछि मात्र पुगिने अत्यन्तै विकट बोगटान फुडसिल गाउँपालिका–२ गराजुबाट कामको खोजीमा भारत हिँडेका युवा । 

लस्कर देख्ने बित्तिकै बोलेरो चालकले सहचालकलाई आदेश दिए, ‘मान्छे फटाफट भित्र राख । नअट्नेलाई पछाडि झोलामाथि बसाल ।’ सहचालकलाई आदेश दिएर चालकले गाडी स्टार्ट गर्नै लाग्दा पसलअघि कोलाहल र रुवाबासी सुरु भयो । उक्त दृश्यले त्यहाँ उपस्थित कसैका आँखा ओभाना रहेनन् । केही युवाले बिछोडको पीडा सहन नसकेर साहुबाट रहर (रक्सी) किनेर खाए । केही हातले मलिन मुहार र आँसु छोप्न थाले । कोही श्रीमती, छोराछोरी र आमालाई अँगालो मारेर सान्त्वना दिइरहेका थिए । बलिन्द्र धारा आँसुले सबैका मुहार र आँखा राता देखिन्थे । A flood of tears flows every year at the farewell of a relative

पसलकै अघिल्लतिर ३० वर्षीया विमला नेपाली डेढ वर्षको छोरो काखमा राखेर सुक्कसुक्क गरिरहेकी थिइन् । १४ वर्षकै उमेरमा विवाह भएकी पाँच सन्तानकी आमा विमलाको अनुहारको रंग पूरै उडेको थियो । 

गराजुकी विमलालाई श्रीमान् भारत पठाउनु परेको पीडासँगै ५ छोराछोरी स्याहार्ने तनाव पनि छ । तीन महिनाअघि घर आएका श्रीमान् कृष्ण फेरि भारत जानु पर्ने बाध्यताको उनी रोएरै चित्त बुझाइरहेकी थिइन् । ‘साहुको पसलबाट लगेको उधारो ऋण तिर्नै बाँकी छ, घरमा अन्नको गेडो छैन,’ लामो सुस्केरापछि आँसुका धारा पुछ्दै उनले भनिन्, ‘श्रीमान सँगै हुँदा गाउँमा सरसापट गरेर खानलाई चिन्ता भएन, अब कसरी छोराछोरी स्याहार्ने ? कमजोर शरीरले अरुको जमिन खोस्रेर अन्न उब्जाउन सक्ने तागत छैन ।’

११ दिदीबहिनी र ४ दाजुभाइ भएकी १७ वर्षीया जानु विश्वकर्मा आफ्ना दाइ गणेशसँगको बिछोड सहन सकिरहेकी थिइनन् । घरमा हुँदा उनका दाजुले पढ्न लेख्न हौसला दिन्थे । घरभरिका सन्तानको छाक टार्नै कठिनाइ झेलिरहेका आमाबुवाको पीडा जानुले नजिकैबाट अनुभूति गरेकी छन् ।

गणेशकी बहिनीलाई पढाउने सपना भए पनि कमजोर आर्थिक अवस्थाले घरमा उनको बिहेको कुराकानी चलिरहेको छ । ‘पीडा बुझ्ने दाजुले हाम्रै खुसीका लागि भारत जानु परेको छ,’ उनले भनिन्, ‘गरिबीले मुखमा अन्नपानी पुर्‍याउनै मुस्किल भएपछि लेखपढ गर्ने, जागिर खाने कुरा सपनामात्रै हो ।’ A flood of tears flows every year at the farewell of a relative

उता, जिपचालक एक्सिलेटर च्यापेर गाडी छुट्न लागेको संकेत गरिरहेका थिए । खलासीले गाडीभित्र छिटो बस्न भन्दै हकार्न सुरु गरे । आनन्दले परिवारसँग जीवन बिताउन नपाएका युवाहरूले धित मरुन्जेल आफन्तसँग बिदाइ हुने मौकासमेत नपाउँदा भक्कानिइरहेका थिए । सन्नाटा र रुवाबासीका बीच बोलेरो धूलो उडाउँदै युवाहरूलाई लिएर गुड्यो ।

अघिसम्म सुक्कसुक्क गरिरहेका महिलाहरू छोराछोरी भुइँमा राखेर डाँको छाडेर रुन थाले । गाडीले डाँडापार गरेपछि रोइरहेकाहरू गति धिमा हुँदै गयो । कोही घरतिर लागे, कोही बारीतर्फ पसे । बचेका केही पुरुष तास खेल्ने योजना बनाउन थाले, केही खसी काटेर रमाउने तयारीमा जुटे । दानबहादुरको पसलमा पुनः चहलपहल बढ्न थाल्यो । 

‘यो दृश्य तपाईंहरूका लागि नौलो लाग्न सक्छ, तर यहाँ दिनदिनै युवाहरू यसरी नै पलायन भइरहन्छन्,’ शिक्षक लोकबहादुर बिठारीले भने, ‘एक महिनाभित्र गराजु गाउँमा रहेका ६० घरधुरीबाट १ सय ७ युवा भारत पसिसकेका छन्, सम्भवतः आजको यो टोली अन्तिम हो ।’ शिक्षक बिठारीका अनुसार गराजुमा आइतबारबाट वृद्धवृद्धा, महिला र बालबालिका मात्र रहेका छन् ।

परिवर्तनशील महिला समूहकी अगुवा सदस्य धनादेवी बोहराले गरिबीले भारत पस्नु पर्दा महिलाहरूका आँखाबाट घट्टे खोला (स्थानीय खोलाको नाम) झैं आँसु बर्सेनि बगिरहेको बताइन् । चेतनाको स्तर बिस्तारै बढ्दै गए पनि गरिबी र अभावले अधिकांश महिला आँसुको आहालमा डुब्न बाध्य रहेको उनले बताइन् । गाउँमा खेतीपातीका लागि जग्गा नभएको र आम्दानीको विकल्प नभएपछि कतिपय यहाँबाट बालबच्चासहित कामको खोजीमा भारतको सीमावर्ती चम्पावत, टनकपुरदेखि दिल्ली, पञ्जाब, मुम्बइ, बेग्लौरलगायतका सहरमा जाने गर्छन् । चाडपर्व सकेर गएका उनीहरू प्रायः वर्षदिनमा घर फर्कन्छन् ।

डोटीलगायत सुदूरपश्चिमका पहाडी क्षेत्रमा हरेक वर्ष चाडबाड र मेलापात सकिएसँगै कात्तिकपछि कामको खोजीमा भारततिर जानेको लर्को सुरु हुन्छ । मंसिर अन्तिम सातासम्म अधिकांश युवा भारत पसिसक्ने बोगटान फुडसिल गाउँपालिका उपाध्यक्ष बिष्नादेवी बम बताउँछिन् । ‘पूरै गाउँका युवा भारत जाने र तराइतिरको बसाइँसराइले मानवविहीन भइसकेका छन्,’ उपाध्यक्ष बमले भनिन्, ‘वृद्धवृद्धा र जागिरका लागि रोकिएका केही व्यक्ति मात्र गाउँमा भेटिन्छन्, हाम्रा लागि अत्यन्तै चुनौतीको विषय बन्दै गएको छ ।’

वडाध्यक्ष भरतबहादुर बम युवाहरूको भारत पलायनले आफूलाई झस्काइरहेको बताउँछन् । ‘मुख्य कुरा बेरोजगारी हो, वडाध्यक्षको हैसियतले कृषिमा रोजगारी सिर्जना गर्न सकिन्छ भनेर प्रयास गरिरहेको छु,’ वडाध्यक्ष बमले भने, ‘कृषिमा युवाको आकर्षण छैन, राजनीतीकरण, टाठाबाठाको चलखेलले सरकारी कृषि अनुदानमा विकृति ल्याएको छ ।’ गाउँका मलिला फाँट बाँझो भइरहे पनि कयौं पटक युवाहरूलाई खेतीपातीका लागि प्रस्ताव गर्दा पनि भारततिरै जान रुचाएको वडाध्यक्ष बम बताउँछन् ।

राष्ट्रिय योजना आयोगको २०७५ को बहुआयामिक गरिबी सूचकांक अनुसार सुदूरपश्चिममा गरिबी दर ४५.५ प्रतिशत छ । यो दर राष्ट्रिय औसत २८.६ प्रतिशतभन्दा धेरै उच्च छ । सुदूरपश्चिमबाट भारतमा कामको खोजीमा जाने व्यक्तिको संख्या उल्लेखनीय छ । 

राष्ट्रिय जनगणना २०७८ (सन् २०२१) को प्रारम्भिक नतिजा अनुसार यस प्रदेशका तीन लाखभन्दा बढी व्यक्ति रोजगारीका लागि भारत गएका छन् । यो संख्या प्रदेशको कुल जनसंख्याको करिब १० प्रतिशत हो । यी तथ्यांकहरूले सुदूरपश्चिममा गरिबी र रोजगारी अभावका कारण कामको खोजीमा भारत जाने क्रम उच्च रहेको देखाउँछ ।

मोहन

Link copied successfully