अभिभावकविहीन बालबालिकाका लागि सहयोग जुट्दै

पुस ९, २०८१

मोहन शाही

Raising support for orphaned children

डोटी — केआईसिंह गाउँपालिकाले टुहुरा तथा बेसहारा बालबालिकालाई जिम्मेवारी लिएर पठनपाठन गराउन लागेको समाचार ईकान्तिपुरमा प्रकाशित भएपछि सहयोग जुट्न थालेको छ । 

केआइसिंह–४ पिलेकाँडास्थित सरस्वती आधारभूत विद्यालयमा विभिन्न क्षेत्रका १३ जना अभिभावक तथा सहाराविहीन बालबालिका अध्ययनरत छन् । उनीहरुलाई लुगा र शैक्षिक सामग्री पालिकाले नियमित उपलब्ध गराउँदै आएको छ । 

अभिभावकविहीन बालबालिकालाई दिपायलस्थित सुजंग अस्पताल र सुजंग स्कुलले ५१ हजार रुपैयाँ बराबरको लत्ताकपडा, शैक्षिक एवम खेलकुद सामग्री वितरण गरेको प्रधानाध्यापक पदमबहादुर विष्टले बताए । ४ वटा कम्मलसहित १३/१३ जोर न्यानो लुगा, टोपी, पञ्जा, स्टेशनरी र खेलकुद सामग्री गरी ५१ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरेको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।

प्रशासन प्रमुख बलायरले १३ जना टुहुरा बालबालिकाका लागि सुजंग अस्पतालमा हुने सम्पूर्ण उपचार नि:शुल्क गर्ने प्रतिबद्धतासमेत गरेका छन् । ‘ईकान्तिपुरमा समाचार प्रकाशन भएपछि हाम्रो पनि ध्यानाकर्षण भयो,’ सुजंग स्कुलका निर्देशक नरेश बलायरले भने, ‘अब उनीहरुको गुणस्तरीय शिक्षामा सबैको हातेमालो हुन जरुरी छ ।’

Raising support for orphaned children

छात्राबासमा केआई सिंह गाउँपालिकाका-७, बोगटान फुडसिल गाउँपालिकाका-२, बडीकेदार गाउँपालिकाका-२ र कैलालीको चुरे गाउँपालिकाका २ गरी १३ जना अभिभावक गुमाएका बालबालिका अध्ययनरत छन् ।

त्यस्तै सिलगढीस्थित एक वित्तीय संस्थामा कार्यरत पूर्णबहादुर कुँवरले समेत ती बालबालिकालाई १३ जोडी ट्र्याकसुट र २ जोडी चप्पल उपलब्ध गराएका छन् ।

केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले समाचार प्रकाशनपछि विभिन्न ठाउँबाट सहयोगका लागि प्रस्ताव आइरहेको बताए । अध्यक्ष शाहीले भने, ‘कतिपय सामग्री हस्तान्तरण गर्दा आवश्यकताभन्दा बढी र दोहोरापना पनि भइरहेको छ, व्यवस्थित छात्राबास र गुणस्तरीय शिक्षाका लागि के-के आवश्यक हुन सक्छन् भनेर अध्ययन गरिरहेका छौं ।’ 

छात्राबास संचालनका लागि गठन गरिएको निर्देशक समितिले पालिकाबाहेक संघसंस्था र व्यक्तिबाट अपेक्षा राखिएको सहयोगको सूची तयार पार्ने बताए ।

मोहन

Link copied successfully