धनगढी — चालु आर्थिक वर्षको पाँच महिनामा सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत खर्च अत्यन्तै न्यून रहेको छ ।
चालु आर्थिक वर्ष ०८१/८२ को साउनदेखि मंसिरसम्मको अवधिमा पुँजीगत खर्च १ अर्ब ३२ करोड ३६ लाख मात्रै छ । यो खर्च सात प्रतिशत मात्र हो । तर त्यसमध्ये पनि गत आर्थिक वर्षको बाँकी भुक्तानी करिब एक अर्ब हो ।
गत वर्ष भएको कामको भुक्तानी घटाउँदै चालु आर्थिक वर्षको विकास खर्च ३२ करोड हाराहारी मात्रै हुन आउँछ । चालु आर्थिक वर्षमा पुँजीगत बजेट १८ अर्ब ७६ करोड २४ लाख २३ हजार रहेको छ ।
कूल बजेट ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार छ । यस अवधिको कूल खर्च ३ अर्ब ४४ करोड ३८ लाख ६४ हजार अर्थात् करिब १० प्रतिशत हो । चालुतर्फको बजेट १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार रहेकामा मंसिरसम्म २ अर्ब १२ करोड २ लाख ४४ हजार खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम सरकारले अघिल्ला पछिल्ला तीनवटा आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा पनि चालु आर्थिक वर्षकै हाराहारीमा खर्च गरेको अभिलेख छ । आर्थिक वर्ष ०७९/८० को पहिलो चौमासिक अवधिमा कूल बजेटमा साढे ६ प्रतिशत खर्च गर्न सकेको थियो । त्यस आर्थिक वर्षको पुँजीगत बजेट २४ अर्ब १४ करोड ४४ लाख ६७ हजार बजेट रहेकामा ९६ करोड ३ लाख ४४ हजार अर्थात् चार प्रतिशत हाराहारी मात्र खर्च गरेको थियो । सो आर्थिक वर्षमा कूल बजेट ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रहेकामा २ अर्ब ४४ करोड ३९ लाख ४६ हजार खर्च थियो ।
आर्थिक वर्ष ०७८/७९ को पहिलो चौमासिकको अवधिमा पुँजीतर्फ कूल बजेट १७ अर्ब ७२ करोड ७८ लाख रहेकामा ६३ करोड ८० लाख अर्थात् साढे तीन प्रतिशत मात्र खर्च गर्न सकेको थियो । गत आर्थिक वर्ष ०८०/८१ मा चालु आर्थिक वर्षमा पुँजीगत बजेट १७ अर्ब ९४ करोड ३५ लाख ७२ हजार रहेकामा ८९ करोड ४५ लाख ६० हजार मात्र अर्थात् झण्डै पाँच प्रतिशत मात्र खर्च गर्न सकेको थियो ।
चालु आर्थिक वर्षमा सबैभन्दा बढी पुँजीगत बजेट रहेकामा मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालय हो । उक्त मन्त्रालयमा १४ अर्ब १० करोड ६७ लाख ५२ हजार पुँजीगत बजेट छ । मंसिरसम्म १ अर्ब २३ करोड १९ लाख ४० हजार खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
‘एक अर्बभन्दा बढी गत वर्षदेखि कार्यान्वयनमा रहेको योजनाको भुक्तानी हो,’ भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता मोहन कुँवरले भने, ‘चालु आर्थिक वर्षको खर्च हुने कुरै छैन । बजेट पनि ढिला आयो । भर्खर प्रक्रिया सुरु हुँदैछ ।’
