आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

पुस ७, २०८१

अर्जुन शाह

Indian citizen arrested with half a kilo of gold

धनगढी — कैलाली प्रहरीले आधा किलो सुनसहित धनगढीबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार धनगढीको ट्राफिक चौराहबाट भारतीय नम्बर प्लेटको कारबाट ५ सय ४९.२ ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरेको हो । 

यूपी ३२ जेभी ९२०० नम्बरको कारलाई चेकजाँच गर्दा गाडीभित्र राखिएको ज्याकेटको खल्तीबाट सुन फेला परेको कैलाली प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले बताए । उक्त कारमा भारतको पलिया बस्ने ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित रहेका थिए । दुवै जनालाई पक्राउ गरिएको एसपी विष्टले बताए । 

विष्टका अनुसार त्यसक्रममा भारतीय नागरिकबाट एक थान ल्यापटप, दुई थान मोबाइल, ४४ हजार ८१० नेपाली रुपैयाँ, १ हजार २ सय ८० भारतीय रुपैयाँ र कार नियन्त्रणमा लिइएको एसपी विष्टको भनाइ छ ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully