अछाम — मेल्लेख गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सडकलाई बहुवर्षीय योजनामा राखेर कालोपत्रे गर्दै आइरहेको छ । आर्थिक वर्ष २०७६/०७७ मा दुई वटा बस किनेर नियमित सेवा दिइरहेको गाउँपालिकाले अहिले सडक कालोपत्रे गरिरहेको छ ।
गाउँपालिकाको केन्द्र विन्द्यावासिनीदेखि साँफेबगर नगरपालिकाको सिमानासम्म रहेको साढे १० किलोमिटर सडक कालोपत्रेका लागि आर्थिक वर्ष २०७७ /०७८ बाट कालोपत्रे गरेको छ । बहुवर्षीय योजनामा राखेर पालिकाले आफ्नै बजेटबाट कालोपत्रे गरेको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिक्मतबहादुर बुढाले बताए ।
उनका अनुसार गाउँपालिकाको मुख्य सडक साँफेबगर नगरपालिकाबाट सुरु हुन्छ । स्थानीयलाई सहज सडकको पहुँचमा पुर्याउनका लागि बस किनेर कार्यपालिकाले नै भाडा निर्धारण गरेको उनले बताए ।
‘मेल्लेखको केन्द्रदेखि साँफेबगरसम्म २ सय ५० रुपैयाँ भाडा निर्धारण गरेको छ । अन्य सार्वजनिक यातायातले ३ सय ५० लिँदै आएका छन्,’ उनले भने ,‘पहिले बस किनेर त्यसपछि सडक कालोपत्रेको काम सुरु भएको हो ।’ साँफेबगर नगरपालिकाको सिमाभित्र पर्ने करिब ११ किलोमिटर सडक भने कच्ची नै रहेको छ तर गाउँपालिकाले आप्नो सिमानाबाट कालोपत्रे गरेको उनले बताए ।
सडक कालोपत्रेका लागि सुरुको वर्षमा संघीय सरकारको ४ करोड समपूरक बजेट आएको र त्यसपछिका वर्षमा पालिका आफैंले बजेट छुट्याएर कालोपत्रे गरिरहेको उनले बताए ।
‘सुरुको ४ वर्ष संघीय सरकारबाट आएको समपूरक बजेट ४ करोड हो । साढे १० किलोमिटर सडक कालोपत्रेकालागि करिब १२ करोड बजेट लाग्नेमा अरु सबै स्थानीय तहको पूँजीगत बजेटबाट योजनाअघि सरेको छ,' उनले भने।
गाउँपालिकाले गौरवको आयोजनाको रुपमा लिएको ग्रामीण सडक कालोपत्रे सफल हुँदै गएको गाउँपालिकाका अध्यक्ष ज्वाला सिहं साउदले बताए । जिल्लाको दुर्गम पालिकामा पर्ने मेल्लेखका जनतालाई सडकको सहज पहुँचमा पुर्याउनका लागि गौरवकै आयोजनाको रुपमा अघि सारेको अध्यक्ष साउदले बताए ।
‘पहिलेका जनप्रतिनिधिको पालामा सडक ग्राभेलको काम भयो । कालोपत्रेको काम हामीले सुरु गरेर लगभग सकिने अवस्थामा पुगेको छ,’ उनले भने ,‘गाउँपालिकाको सिमानाबाट कालोपत्रे सुरु भएपछि बाँकी भएको सडक पनि कालोपत्रे गर्नु पर्ने दबाब पर्यो । साँफेबगर क्षेत्रमा पर्ने सडक पूर्वाधार विकास कार्यालयबाट कालोपत्रे गर्ने काम भइरहेको छ ।’
पालिकाको सिमानादेखि केन्द्रसम्मको सडक यही आर्थिक वर्षमा कालोपत्रे सम्पन्न गर्ने र आगामी आवबाट पालिकाको केन्द्रबाट दुर्गम क्षेत्र रिसिदमा पर्ने १ ,२ र ३ वडालाई मध्यनजर गरेर २७ किलोमिटर सडक बहुवर्षीय योजनामार्फत कालोपत्रे गर्ने तयारी रहेको उनले बताए ।
कालोपत्रे भएको सडक साँफेबगर पुगेर मात्रै देखेका यहाँका स्थानीय आफ्नै घर आँगनमा दखेपछि खुसी भएका छन् । ‘हामी त दुर्गमका मान्छे, गाडी देख्नसमेत पाएका थिएनौं । अहिले घर अगाडी पक्की बाटो बनेर गाडी चल्छन् । यस्तो होला भन्ने सोचेकै थिएन,’ मेल्लेख गाउँपालिका –७ नन्देगडाका ८३ वर्षीय नन्दबहादुर साउदले भने, ‘मेल्लेख जान आउनलाई सरर गाडी कुद्छन् । हेरिरहुँ लाग्छ ।’
