दार्चुला — बैतडीको पाटन नगरपालिका–७ किम्तोलीमा परेको चट्याङले दुई जना घाइते भएका छन् । सोमबार बिहान करिब ९ बजे परेको चट्याङले स्थानीय २५ वर्षीया निर्मला चन्द र १२ वर्षीया अनिता भट्ट घाइते भएका प्रहरिले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार स्थानीय डम्मरदत्त भट्टको घर नजिकै रहेको विद्युत्को पोलमा चट्याङ परेको र उक्त चट्याङले दुई जना घाइते भएका छन् ।
चट्याङ लागेर घाइते भएकी चन्दको घाँटी नजिक जलेको छ भने भट्टको पनि शरीरमा चोट रहेको बैतडी प्रहरिका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । घाइते दुवै जनालाई उपचारका लागि डडेलधुरा अस्पताल लगिएको छ ।
चट्याङ लागेर स्थानीय जनकबहादुर चन्दको एक भैंसी र दीपक दमाईले एक गोरु पनि मरेको स्थानिय मोहन बोहराले जानकारी दिए । चट्याङले स्थानीय डम्मरदत्त भट्ट, धर्मानन्द भट्ट र जनकबहादुर चन्दको घरमा गरिएको वाइरिङ नष्ट हुनुका साथै विद्युत् मिटर समेत जलेका छन् ।
