धनगढी — बाजुराको कोल्टीदेखि सदुरमुकाम मार्तडी आउँदै गरेको जिप आइतबार दिउँसो मार्तडीनजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
सुपप्र ०१००१ च ४३१६ नम्बरका जिप मार्तडीनजिकै रहेको अपी होटलको मोडमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा कञ्चनपुर घर भएकी अन्दाजी ३१ वर्षीया गायत्री पन्तको मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ । जिप सडकदेखि करिब एक सय मिटरतल खसेको थियो ।
दुर्घटनामा बाजुराको गौमूल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीया लोकेन्द्र पन्त, भीमदत्त नगरपालिका–१८ कि ५२ वर्षीया राधिका भट्ट र कञ्चनपुर गुलरियाका मोहनदेव भट्ट रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।
यस्तै, एभरेस्ट इन्टरनेटको नेटवर्क जडानका गइरहेको ग २ च ६३०४ नम्बरको जिप बाजुराकै हिमाली गाउँपालिका–६ धीममा आइतबार दिउँसो जिप दुर्घटना भएको बाजुरा प्रहरी प्रमुख दिलीपकुमार गिरीले बताएका छन् ।
उक्त दुर्घटनामा सात जना घाइते भएका छन् । १३ जना यात्री चढेको जिप अनियन्त्रित भई दुर्घटना भएको गिरीले बताए । घाइतेहरूलाई उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको र पहिचान खुल्न बाँकी रहेको गिरीको भनाइ छ ।
