धनगढी — धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल अस्वस्थ भएका छन् । धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार गराइरहेका हमालको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि शनिबार भारतको दिल्ली लगिएको छ ।
मेयर हमालको उपचारमा संलग्न मायामेट्रो अस्पतालका डा. हरि पौडेलका अनुसार उनलाई दिमागको पक्षघात भएको छ । ‘उहाँको स्वास्थ्य अवस्था स्थिर छ । धनगढीमा सबै प्रकारले उपचारको सुविधा नभएकोले रेफर गरेका हौं,’ डा. पौडेलले भने । हमाल केही दिनयता अस्वस्थ थिए । अस्वस्थता बढेपछि हमाललाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो ।
हमालको सचिवालयका अनुसार उनलाई शुक्रबार रिङटा लागेको थियो । सचिवालयका प्रतिनिधिले भने ‘पहिलादेखि नै उपचार गराइरहेको दिल्लीस्थित म्याक्स अस्पतालमा लगिएको छ ।’ यसअघि उनी कानको बिरामी थिए । हमालको उपचार तथा रेखदेखका लागि छोरा आयुष र भाइ साथमा गएका छन् ।
