डेढ महिनापछि भेटियो क्लु, मदिरा नदिएको झोकमा हत्या
कञ्चनपुर — कञ्चनपुरको लालझाडी गाउँपालिका-२ सुख्खडका बडायक दम्पतीको हत्या घटनामा प्रहरीले डेढ महिनापछि नयाँ क्लु फेला परेको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही वडाका एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार लालझाडी गाउँपालिका-२ कै कञ्जका ५० वर्षीय गंगाराम रानालाई पक्राउ गरेको हो । उनलाई बुधबार पक्राउ गरी बिहीबार जिल्ला अदालतबाट १० दिन म्याद थप गरिएको छ ।
‘हत्या मैले नै गरेको हुँ भनेका छन्, मदिरा नदिएका कारण आवेशमा आएर हत्या भएको भन्ने देखिन्छ,’ डीएसपी जोशीले भने, ‘अदालत र सरकारी वकिलसमक्ष पनि यही बयान दिएका छन् ।’ उनका अनुसार रानालाई शंका लागेर एक साताअघि सोधपुछ गर्दा आफू उक्त ठाउँमा नगएको बताएका थिए । तर फेरि शंका लागेर दोस्रो पटक सोधपुछ गर्दा उनले आफैंले हत्या गरेको स्वीकारेका हुन् ।
डीएसपी जोशीका अनुसार राना मदिरा सेवन गरेर रातिको समयमा हिँडडुल गर्ने भएका कारण शंका लागेको थियो । त्यसकै आधारमा सोधपुछ गर्दा सुरुमा केही नखुलेको र दोस्रो पटक फेरि सोधपुछ गर्दा भने सबै कुरा खुलेको बताए ।
कात्तिक ८ गते राति लालझाडी गाउँपालिका-२ बिनबारीका ४६ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीया कमलाको हत्या भएको थियो । बडायक दम्पतीले घरभन्दा केही टाढा सुख्खड भन्ने ठाउँमा मदिरा र मासु पसल सञ्चालन गरेका थिए । उनीहरू पसलमै बस्ने गर्थे । उक्त पसल बस्तीभन्दा करिब २ सय मिटर टाढा खेतमा छ ।
प्रहरीसमक्ष आरोपित रानाले दिएको बयानअनुसार मध्य रातमा मदिरा सेवन गरेकै अवस्थामा उनी बडायक दम्पतीको पसलमा पुगेका थिए । त्यहाँ पनि उनले मदिरा मागे । तर बडायकले मदिरा दिन इन्कार गरे । उल्टै रानालाई एक थप्पड हाने । त्यही झोकमा रानाले नजिकै रहेको काठको चिरपट समातेर बडायकमाथि प्रहार गरे । बडायक त्यहीँनिर झरे । त्यसपछि उनकी श्रीमती कमला रुन थालिन् । उनलाई पनि त्यही चिर्पटले हानेर हत्या गरेपछि भागेको रानाले बयान दिएका छन् ।
‘मदिराको नशामा काठको चिर्पट कहाँ फाले केही थाहा भएन भनेर बयान दिएका छन्,’ डिएसपी जोशीले भने, ‘घटना राति १२ देखि १ बजेको बीचमा भएको भनेका छन्, रानाको मोबाइल लोकेसन हेर्दा उक्त समयमा घटनास्थलमा देखिन्छ ।’ मदिरा नदिएको झोकमा आवेशमा आएर हत्या भएको हुन सक्ने उनले बताए । घटनाबारे सुक्ष्म ढंगले थप अनुसन्धान भइरहेको उनले बताए ।
