बडिमालिकालाई संरक्षित क्षेत्र बनाउने तयारी भइरहेको छ : वनमन्त्री शाही

मंसिर १५, २०८१

अर्जुन शाह

Preparations are underway to make Badimalika a protected area: Forest Minister Shahi

धनगढी — वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले बडिमालिका क्षेत्रको जैविक विविधतालाई जोगाउन संरक्षित क्षेत्र बनाउने तयारी भइरहेको बताएका छन् ।

बाजुरामा पर्ने बडिमालिका क्षेत्र प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र हो । जैविक विविधताले भरिपूर्ण बडिमालिका क्षेत्र पछिल्ला वर्षहरुमा संरक्षणको अभाव तथा मानव अतिक्रमणमा परिरहेको संरक्षणकर्मीहरु बताउँछन् । 

बिना कुनै अध्ययन हाल बाजुरा सदरमुकाम मार्तडीदेखि बडिमालिका क्षेत्रसम्म मनपरी डोजर चलाएर सडक निर्माण भइरहेको छ । ‘बडिमालिका क्षेत्रमा डोजर चलाउनु भनेको त्यस क्षेत्रको जैविक विविधता विकास गर्नु हो,’ संरक्षकर्मीहरु भन्छन् ।

धनगढीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शाहीले बडिमालिकालाई संरक्षित क्षेत्र बनाउन कानुनी प्रक्रिया हुने र त्यसका लागि आवश्यक छलफल सुरु गरिएको बताए । ‘आगामी वर्षको कार्यक्रममा बडिमालिकालाई संरक्षित क्षेत्र बनाउने योजनाका लागि छलफल भइरहेको छ,’ मन्त्री शाहीले भने, ‘यसका लागि सम्बन्धित क्षेत्रको स्थानीय तहको समन्वयमा थप प्रक्रियाहरु अघि बढ्नेछ ।’ 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully