सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

वर्षाबाट पीडित प्रदेशवासीलाई राहत तथा क्षतिपूर्ति दिन निर्देशन 

श्रावण २३, २०८१

अर्जुन शाह

The special session of Sudurpaschim Pradesh Assembly ends

धनगढी — सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनअन्तर्गत बुधबार बसेको पाँचौं तथा अन्तिम बैठकले गत असार महिनामा आएको अविरल वर्षापछि उत्पन्न बाढीपहिरो लगायत प्राकृतिक विपदबाट पीडित प्रदेशवासीलाई नियमानुसार राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई निर्देशन गरेको छ । 

बुधबारको बैठकमा एमालेका सन्तोष शर्मा थापा, धर्मराज पाठक, दमन भण्डारी, कांग्रेसका विक्रमसिंह धामी, बेलबहादुर राना मगर, एकीकृत समाजवादीका प्रकाश रावल र राप्रपाकी खेमादेवी विष्टले असारमा आएको वर्षा तथा बाढीपहिरोबाट पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गरेका थिए । 

प्रदेश सभा सदस्यहरुले राखेका मागमाथि आन्तरिक मामिला मन्त्री हीरा सार्कीले जवाफ दिएका थिए । त्यसपछि सभामुख भीमबहादुर भण्डारीले सरकारलाई राहत तथा क्षतिपूर्तिका लागि सरकारलाई दिइने निर्देशन सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए । सभामुखले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो । विशेष अधिवेशन चलिरहेकै बेला निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका थिए । 

प्रदेश सभाले सरकारलाई गरेको निर्देशनसँगै सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बुधबार रातिदेखि विशेष अधिवेशनको अन्त्य गरेका छन् । 

तत्कालीन विपक्षी दलहरु नेपाली कांग्रेस र एमालेका सांसदहरुको मागमा साउन ८ गतेदेखि विशेष अधिवेशन सुरु भएको थियो । साउन ३ गते बजेट अधिवेशन अन्त्य भएपछि प्रतिपक्षी दलहरु कांग्रेस र एमालेका २० जना सांसदले विपद्, राहत लगायतका विषयमा सरकारलाई निर्देशन दिन आवश्यक रहेको भन्दै साउन ४ मा प्रदेश प्रमुख मियाँसमक्ष संविधानको धारा १८३ (३) बमोजिम अधिवेशन आह्वान गर्न लिखित आग्रह गरेका थिए । सोही दिन प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका थिए । सुदूरपश्चिममा विशेष अधिवेशन आह्वान भएको यो पहिलो पटक हो ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully