कप्तान रोहित पौडेलले नामिबियामा भइरहेको प्रतियोगितामा टस जितेपछि नामिबियालाई पहिला ब्याटिङका लागि बोलाउने निर्णय गरेका हुन् ।
काठमाडौं — नेपालले क्रिकेट विश्वकप लिग २ को सोमबारको खेलमा नामिबियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । कप्तान रोहित पौडेलले नामिबियामा भइरहेको प्रतियोगितामा टस जितेपछि नामिबियालाई पहिला ब्याटिङका लागि बोलाउने निर्णय गरेका हुन् ।
नेपालले यस शृंखलामा पहिलो पटक टस जितेको हो । यसअघिका २ खेलमा टस हारेपछि नेपालले पहिला ब्याटिङ गर्नु परेको थियो । उट्रेच्टमा वर्षाका कारण खेल ढिला सुरु भएको छ । यद्यपि, ओभर भने घटाइएको छैन ।
नेदरल्यान्ड्ससँग अघिल्लो खेल खेलेको नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ । देब्रेहाते स्पिनर ललित राजवंशीको स्थानमा माथिल्लोक्रमका ब्याटर भीम सार्कीलाई प्लेयिङ ११ मा खेलाइएको छ ।
नामिबिया र नेदरल्यान्ड्ससँगको पहिलो २ खेलमा नेपाल पराजित भएको थियो र नेपालले दुबै खेलमा पहिला ब्याटिङ गर्दै १५७ रनमात्र बनाउन सकेको कारण नेपालले नामिबियाविरुद्ध भीमलाई समावेश गर्दै ब्याटिङमा जोड दिएको छ ।
ह्यामस्ट्रिङ तन्किएका कारण तीव्र बलर नन्दन यादव यसअघि नै यो शृंखलाबाट बाहिरिसकेका छन् । नेपालले बुधबार नेदरल्यान्ड्ससँग यस शृंखलाको अन्तिम खेल खेल्ने छ ।
