करण केसीले ५ विकेट लिएपछि टस हारेर ब्याटिङ गर्न आएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ११ रन बनाएको थियो । तर जवाफमा आएको नेपालले ६ विकेट गुमाई २ सय ८ रनमात्र बनाउन सक्यो ।
What you should know
काठमाडौँ — फिनिसिङमा चुक्दा नेपालले क्रिकेट विश्वकप लिग २ मा एउटा अर्को हार बेहोरेको छ । नेदरल्यान्ड्समा भइरहेको खेलमा नामिबियाले सोमबार नेपाललाई ३ रनले पराजित गर्यो ।
करण केसीले ५ विकेट लिएपछि टस हारेर ब्याटिङ गर्न आएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ११ रन बनाएको थियो । तर जवाफमा आएको नेपालले ६ विकेट गुमाई २ सय ८ रनमात्र बनाउन सक्यो ।
अन्तिम २ ओभरमा नेपाललाई विजयका लागि २८ रन चाहिन्थ्यो । गुलशन झाले चौका प्रहार गरे पनि नेपालले ४९ औं ओभरमा ११ रनमात्र बनाउन सकेको थियो । त्यसपछि अन्तिम ओभरमा नेपाललाई विजयका लागि १७ रन बनाउनुपर्ने समीकरण बनेको थियो ।
अन्तिम ओभरको पहिलो बलमा लेग बाईमा २ रन रन बटुलेको थियो भने नामिबियाका कप्तान जेहरार्ड इरसमसले दोस्रो बलमा १ रन मात्र दिएका थिए । तेस्रो बलमा चौका प्रहार गरेका गुलशनले त्यसपछिका अर्को २ बलमा २–२ रन प्रहार गरे । नेपाललाई अन्तिम बलमा विजयका लागि छक्का चाहिने अवसरमा इरसमसले वाइड फाले पनि अर्को बलमा गुलशनले १ रनमात्र बनाउन सके ।
उट्रेच्टमा नेपालको यो तेस्रो हार हो । यसअघिका दुई खेलमा नेपाललाई नामिबियाले ८ विकेटले र नेदरल्यान्ड्सले ५ विकेटले पराजित गरेको थियो र दुवै खेलमा पहिला ब्याटिङ गरेको नेपालले १ सय ५७ रनमत्र बनाउन सकेको थियो । नेपालले बुधबार नेदरल्यान्ड्ससँग अन्तिम खेल खेल्ने छ । लिग २ मा विदेशी भूमिमा खेलिएको खेलमा नेपालको लिग २ मा यो लगातार सातौ हार हो । नेपालले यसक्रममा १९ खेलमा १३ हार बेहोरको छ ।
यस नतिजापछि नेपाललाई उछिन्दै नामिबिया पाँचौं स्थानमा आएको छ । नामिबियाको ३१ खेलमा २६ अंक छ भने नेपाल २४ अंकसहित ८ राष्ट्र सहभागि लिग २ को पाँचौं स्थानमा यथावत छ । समान ३२ अंक खेलेका अमेरिका ४३ र स्कटल्यान्ड ३८ अंकसहित पहिलो दुई स्थानमा छ । नेदरल्यान्ड्स ३० खेलमा ३६ अंक जोडी तेस्रो स्थानमा छ । ओमान २८ खेलमा ३१ अंकसहित चौथो स्थानमा छ । लिग २ का शीर्ष चार टोली विश्वकप छनोटमा सोझै छनोट हुने प्रावधानमा नेपालको शीर्ष चार भित्र सम्भावना अब गणितीय हिसाबमा मात्र बाँकी छ ।
नेपालले २५ ओभरमा ८६–१ को स्थितिमा रहेको अवस्थाबाट खेल गुमाएको हो । कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटमा ५१ रनको साझेदारी गरे । कुशल १४ औं ओभरमा ३४ रनमा आउट भए । उनले ४७ बल खेली ३ चौका र १ प्रहार गरे । नेपालले पहिलो ५ विकेट सर्ट बलमा गुमाएको थियो । कुशल बाउन्ड्री लाइनमा क्याच दिन पुगे ।
नामिबियाका तीव्र बलर ज्याक ब्रासेलले इशान पाण्डेलाई १४ र भीम सार्कीलाई १ रनमै सर्ट बलमा विकेटकिपरबाट क्याच गराए । तर इशानलाई दिइएको निर्णय विवादस्पद रहेको लाइभ टेलिकास्टमा देखाइएको थियो । आसिफ पनि सर्ट बलमा अघिल्लो खेलमा जस्तै फाइन लगेमा क्याच दिन पुगे । उनले ८९ बल खेली ५ चौका प्रहार गर्दै ४५ रन बनाए । सोक्रममा उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन बनाउने दोस्रो खेलाडी बनेका थिए । व्यक्तिगत २२ रन बनाएपछि आसिफले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो २ हजार रन पुरा गरेका थिए ।
दीपेन्द्रसिंह ऐरी ३ रनमा रनआउट भए । कप्तान रोहित पौडेलले ५० बल खेली ३ चौकासहित ४१ रन बनाए । आरिफ शेख ४९ बल खेली ३ चौका प्रहार गरी ३८ र गुलशन १० बल खेली २ चौकासहित १८ रनमा अविजित रहे ।
यसअघि करणको उत्कृष्ट बलिङमा नेपालले नामियिबालाई ठूलो स्कोर बनाउनबाट रोकेको थियो । करणले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए । नामिबियाबाट कप्तान यान फ्राइलिन्कले शतक बनाए । उनी ठिक १ सय रन बनाई ४९ औं ओभरमा रनआउट भए । उनले १ सय ४९ बल खेल्दै ३ चौका प्रहार गरे । लाउरेन स्टिनकाम्पले ८७ बल खेली ४ चौका र १ छक्कासहित ५९ रन बनाए ।
