भिल्लारियलबाट आफ्नो खेल जीवन सुरु गरेका रोड्रीले केही समय एथलेटिको म्याड्रिडमा पनि बिताए । सन् २०१९ यता त उनी सिटीमै छन् ।
What you should know
म्यानचेस्टर — म्यानचेस्टर सिटी अहिले परिवर्तनको बहावबाट गुज्रिरहेको छ । पेप ग्वार्डिओलाले दस वर्ष सिटी चलाए । उनीबिना खेल्न सजिलो हुने छैन । तर अहिले त सिटी पूरा टिम नै फेरिनुपर्ने संघारमा छ ।
सन् २०२२–२०२३ को सिजनमा तीन उपाधि जितेको टिमबाट चार प्रमुख खेलाडीले छाडिसके र ती हुन्, म्यानुएल एन्कान्जी, नथान एके, बर्नार्डो सिल्भा र जोन स्टोन्स । यसबीच सिटीले नयाँ खेलाडीका रूपमा एलिट एन्डरसन र जेरेमी मोन्गालाई अनुबन्ध गरेको छ ।
यो सिटीभित्रको परिवर्तनको क्रम सायद यही रोकिने छैन । विश्वकप विजेता स्पेनी टिमका रोड्री सोमबार शल्यक्रियाबाट गुज्रिने छन् । सिटीसँग उनको अनुबन्ध एकै वर्ष मात्र बाँकी छ । यस्तोमा रोड्रीको भविष्यलाई लिएर पनि अन्योल छ ।
सायद सिटीलाई अहिले उनलाई फकाउने तनाव छ । यी ३० वर्षे मध्यपंक्तिका खेलाडीले चोटका कारण कति समय मैदान बाहिर बिताउने हो, त्यो टुंगो छैन । नयाँ प्रशिक्षकका रूपमा मिडियाको सामना गर्ने क्रममा एन्जो मारेस्काले भनेका छन्, उनी रोड्रीलाई टिममा कायम राख्न चाहन्छन् । यसबीच उनलाई किन्न रियल म्याड्रिडले रुचि देखाइरहेको समाचार पनि आइरहेको छ ।
सिटीका लागि ठूलो प्रश्न हो, यी खेलाडीबिना टिमको मध्यपंक्ति कस्तो हुने त ? कि सिटी यस प्रश्नको उत्तर पछाडि नलागेर मारेस्कोले जस्तै उनलाई टिममा राख्न चाहन्छन् । गत वर्ष चोटबाट मैदान फर्केयता उनलाई लिएर एउटा प्रश्न थियो, के यी खेलाडीको प्रदर्शन फेरि एकपल्ट बेलन डे’अर विजेता खेलाडीकै जस्तो हुनेछ त ? कि यो नै उनको खेल जीवनको उच्च तह हो ?
ग्वार्डिओलाको यस विषयमा भनाइ रहेको थियो, विश्वकपमा रोड्रीको प्रदर्शन उच्च रहनेछ, त्यसपछिको सिजन पनि उनको प्रदर्शन यस्तै रहनेछ । उनको यो भनाइ सही पनि रह्यो, रोड्रीकै नेतृत्वमा स्पेनले विश्वकप मात्र जितेन, उनी आफैं प्रतियोगिता उत्कृष्ट खेलाडी रहे, गोल्डन बल अवार्ड जितेर । मारेस्काले भने अहिलेका लागि खालि यति भनेका छन्, रोड्री त्यस्ता खेलाडी हुन्, जसलाई आफ्नो टिममा होस् भनेर सबै चाहन्छन् ।
उनी भन्छन्, ‘अबको शल्यक्रियापछि उनलाई केही दिन आराम चाहिनेछ । उनलाई त्यस चोटबाट पूर्णतः मुक्त हुन पनि समय चाहिनेछ । त्यसपछि मात्र उनी हाम्रा लागि मैदानमा उत्रने छन् ।’ त्यसको अर्थ के भन्दा अहिलेका लागि सिटी यी खेलाडीलाई टिममै होस् भन्ने चाहन्छन् । कुरा यत्तिकैमा सकिन्न, स्वयं खेलाडीचाहिँ के चाहन्छन्, सिटीमै रहने कि, रियलतर्फको सम्भावित बाटो खुलाउने ?
यसबारे यी खेलाडीले ठ्याक्कै मुख खुलाएका छैनन् । तर स्पेनी मिडियालाई विश्वास गर्ने हो भने उनी नयाँ चुनौतीको सामना गर्न चाहन्छन् र यो भनेको नयाँ क्लब हुन सक्छ । भिल्लारियलबाट आफ्नो खेल जीवन सुरु गरेका रोड्रीले केही समय एथलेटिको म्याड्रिडमा पनि बिताए । सन् २०१९ यता त उनी सिटीमै छन् । उनी ३० वर्षका पनि भइसके, त्यसैले अहिलेको स्थिति उनलाई लिएर सिटीका लागि तनावकै समय हो ।
