नेपाललाई एकदिवसीय क्रिकेट खेल्नै सकस

ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलमध्ये एक आउट भएपछि कि त टिम पूरै इनिङ्स दबिएर खेल्छ कि अन्य ब्याटरहरू पालैपालो आउट भएर सानो स्कोरमै समेटिन्छ।

श्रावण १०, २०८३

विनोद पाण्डे

Nepal faces difficulties even to play One Day cricket

What you should know

काठमाडौँ — नेदरल्यान्ड्स भ्रमणमा क्रिकेट विश्वकप लिग २ खेल्ने गएको नेपालको पुरुष क्रिकेट टोलीको ब्याटिङ प्रदर्शन हेर्ने हो भने स्पष्ट एकरुपता देख्न सकिन्छ । तर नेपालको त्यो एकरुपता कमजोर ब्याटिङ प्रदर्शन र न्युन स्कोरमा हो । एकदिवसीय क्रिकेटमा नेपालको कमजोर ब्याटिङको निरन्तरता पनि हो । 

पहिलो दुई खेलमा नामिबिया र नेदरल्यान्ड्ससँग क्रमशः ८ विकेट र ६ विकेटले पराजित भएपछि लिग २ का शीर्ष चार टोली विश्वकप छनोटमा सोझै छनोट हुने प्रावधानमा प्रवेश गर्ने नेपालको सम्भावना कमजोर मात्र होइन, असम्भवकै स्थितिमा पुगेको छ । 

यस्तो अवस्थामा नेपालको एकदिवसीय : अझ कठिन बन्दै गएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लिग २ को यस सर्कलपछि कस्तो संरचना बनाउने स्पष्ट भइसकेको छैन, तर नेपालले ब्याटिङका लागि कठिन मानिएको नामिबियामा गएर विश्वकप छनोटको प्लेअफ खेल्नुपर्ने हुन्छ । यस्तोमा निकै व्यस्त रहेको नेपालको २०२६ को अन्तर्राष्ट्रिय क्यालेन्डरलाई अझ बोझिलो बनाउने छ । 

नेदरल्यान्ड्समा भोगेको दुई हार जोड्ने हो भने लिग २ मा विदेशी भूमिमा खेलिएका १८ खेलमा नेपालले १२ हार सामना गरिसकेको छ । त्यसमा पहिला ब्याटिङ गरेको खेलमा नेपाल ५ पटक त २ सयमुनिको स्कोरमा रोकिएको छ । नामिबिया र नेदरल्यान्ड्ससँग पहिलो दुवै खेलमा नेपाल समान १ सय ५७ रनमा अलआउट भएको थियो । घरेलु मैदानमा खेलिएका लिग २ का १२ खेलमा नेपाल तीन पटक २ सयमुनिको रनमा अलआउट भएको छ । 

ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलमध्ये कोही आउट भएपछि कि त टिम पूरै इनिङ्स दबिएर खेल्ने गर्छ कि अन्य ब्याटरहरू पालैपालो आउट भएर सानो स्कोरमै समेटिने नेपालको परम्परा नै बनिसकेको छ । फेब्रुअरीमा यूएई र ओमान लिगका लागि नेपाल आएको थियो । ओमानसँग शृंखलाको तेस्रो खेलमा १ सय २ रनको हार बेहोरेपछि प्रशिक्षक स्टुवार्ट लले आसिफ र कुशलको स्थानमा विनोद भण्डारी र अर्जुन कुमाललाई ओपनिङ जोडी बनाएका थिए । हाल नेपाली टोलीमै रहे पनि लले विनोद र अर्जुनलाई धेरै समय विश्वास देखाउन सकेनन् । आसिफ र कुशल नै ओपनिङ जोडीमा फर्किहाले ।

दुई महिनाअघि इशान पाण्डेले अमेरिका र स्कटल्यान्डविरुद्धको शृंखलामा राम्रो स्कोरमात्र गरेनन्, लामो समयदेखि देव्रेहाते ब्याटिङको खडेरीलाई पनि चिरेका थिए । नेदरल्यान्ड्स भ्रमणमा नेपालजस्तै उनी पनि रन बटुल्न संघर्ष गरिरहेका छन् । यूएई र ओमान तथा अमेरिका र स्कटल्यान्डसँगको लिग २ को घरेलु शृंखलामा नेपाललाई ८ मध्ये ६ खेल जिताउन उपकप्तान दीपेन्द्रसिंह ऐरीको ब्याटले ठूलो भूमिका खेलेको थियो । तर उनीसहित कप्तान रोहित पौडेल, आरिफ शेखले मध्यक्रममा एकरुपको ब्याटिङ प्रदर्शन देखाउन सकेका छैनन् । ठूलो शटमा केन्द्रित रहने गुलशन झा जम्दै गरेको विकेटलाई गुमाउने क्रम जारी राख्दा नेपाल अन्तिम पावरप्लेमा चुक्ने गरेको छ । देव्रेहाते ब्याटिङको महत्व उनले बिर्सिएजस्तै गरिरहेका छन् । 

गुलशनसहित सोमपाल कामी, करण केसी अलराउन्डरको सूचीमा रहे पनि उनीहरूले नेपाली ब्याटिङको उद्धार गर्न सकेका छैनन् । सोमपाल र करणले बेला बेलामा ब्याटिङमा आवश्यक इनिङ्स नखेलेका होइनन्, तर नेपाललाई आवश्यक पर्दा उनीहरूको ब्याट पनि माथिल्लोक्रमको कमजोर ब्याटिङ प्रदर्शनको भारले थिचिने गरेको छ । 

सन् २०२३ मा नेपालले ५० ओभरमा असाधारण प्रदर्शन देखाएको थियो । योक्रममा नेपालले लिग २ का १२ खेलमध्ये ११ खेल जितेर सोझै विश्वकप छनोटमा पुगेको थियो । यो यही वर्ष थियो, जहाँ नेपाल घरेलु मैदानमा एसिया कप छनोट पार गर्दै एसिया कपमा पहिलो पटक छनोट भएको थियो । एसिया कपमा पाकिस्तानविरुद्ध मुल्तानमा सुरुआतमा राम्रो बलिङ गरेको नेपालले भारतविरुद्ध श्रीलंकाको क्यान्डीमा २ सय ३० रन बनाएको थियो । 

एसिया कप खेल्न जानु अघि जिम्बावेमा भएको विश्वकप छनोटमा पनि नेपालले राम्रो ब्याटिङ प्रदर्शन देखाएको थियो । जिम्बावेविरुद्ध पहिलो खेलमा ८ विकेट गुमाई २ सय ९० रन बनाएको नेपालले त्यसपछि अमेरिकाविरुद्ध २ सय ११ रनको विजय लक्ष्य ४३ ओभरमै पूरा गरेको थियो । वेस्ट इन्डिजविरुद्ध १ सय १ रनले पराजित खेलमा अन्तिम ओभरमा अलआउट हुनुपूर्व २ सय ३८ रन बनाएको थियो । 

नेदरल्यान्ड्ससँग भने १ सय ६७ रनमात्र बनाउन सकेको नेपालले त्यसपछि यूएईविरुद्ध १ सय ८२ रनको विजय लक्ष्य ४४ ओभरभित्र पार गरेको थियो भने आयरल्यान्डसँग अन्तिम खेलमा ९ विकेट गुमाई २ सय ६८ रन बनाएको थियो । 

यही पृष्ठभूमिमा नेपालले नेदरल्यान्ड्स र नामियिबाविरुद्ध घरेलु मैदानमा २०२४ को फेब्रुअरीमा काठमाडौंबाट लिग २ को २०२४–२६ सर्कल सुरु भएको थियो । अझ नामिबियाका कप्तान जेहर्राड इरसमसले यो शृंखलाको ठिकअगाडि नेपाल एसोसिएट राष्ट्रको शक्तिशाली रूपमा रहेको प्रतिक्रिया दिएका थिए । संयोगले नामिबियासँग पहिलो खेलमा नेपाल कीर्तिपुरमा १ सय ३२ रनमै अलआउट भयो, जुन नेपालको यस सर्कलको लिग २ मा सबैभन्दा न्युन स्कोर हो । त्यसयता नेपालको ५० ओभरको खेलमा प्रदर्शन र स्तर यही स्कोरको हाराहारीमा मात्र देखिएको छ । नेपालले नामिबिया र नेदरल्यान्ड्सविरुद्ध २–२ गरी चारै खेलमा २ सय रन कटाउन सकेन, त्यसमा तीन पटक त पहिला ब्याटिङ गर्दा भएको थियो ।

साढे दुई वर्षअघि नामिबियाविरुद्ध प्लेयिङ ११ मा खेलेको टोलीका ८ खेलाडी अहिले पनि नेपाली टोलीमा छन् । अनिल साह, कुशल मल्ल र पवन सर्राफबाहेक नेपालको ब्याटिङलाइन अप त्यही नै छ । इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी र आरिफ शेख उनीहरूको स्थानमा आएका छन्, तर लिग २ मा नेपालको कमजोर ब्याटिङलाई उनीहरूले पनि छोप्न सकेका छैनन् । घरेलु मैदानमा लिग २ चलिरहँदा नेपाल क्रिकेट संघ (क्यान) ले भने आश्चर्यजनक रूपमा दीपेन्द्रलाई यूएईको आईएल टी–२० लिगमा खेल्न स्वीकृति दिएपछि नेपालको प्रदर्शन कमजोर बनेको थियो । 

नेदरल्यान्ड्समा पहिलो दुई खेल हेर्दा नेपाललाई त्यहाँको कन्डिसन र विकेट बुझ्न गाह्रो भइरहेको देखिन्छ । किनभने १५ ओभरसम्म नेपालले माथिल्लोक्रमको महत्त्वपूर्ण विकेट गुमाइसकेको हुन्छ । ठूलो शृंखला खेल्न जानु अघि त्यसअनुरुप तयारी नहुँदा पनि नेपालको प्रदर्शनमा असर परेको हुनसक्छ । 

जुनमा सिंगापुरमा भएको एसियाली खेलकुद छनोटमा खेलेयता नेपाली टोली सोझै युरोप यात्रामा निस्किएको थियो र ब्रिटिस टापु जर्सीमा ५० ओभरको दुई खेल जर्सीसँगै खेलेको थियो । दुवै खेलमा नेपालले सजिलो विजय हात पारेको थियो । जर्सी विश्व क्रिकेट लिगको संरचनामा नेपालभन्दा धेरै तल रहेको टोली हो, जसले नेपाललाई नेदरल्यान्ड्स जानुअघि पर्याप्त प्रतिस्पर्धात्मक अवसर प्रदान गर्न नसकेको देखिन्छ । 

यसअघिका दुई युरोप भ्रमणमा जानुअघि खेलिएको अभ्यास म्याचहरू अहिले नेपाली टोलीका लागि उदाहरण बन्न सक्थ्यो । सन् २०१६ मा विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेदरल्यान्ड्स जानुअघि नेपालले इंग्ल्यान्डमा लडर््समा मेरिलेबोन क्रिकेट क्लबसहित अन्य चार अभ्यास खेल खेलेको थियो र नेदरल्यान्ड्समा दुईमध्ये १ खेल जित्न सफल भएको थियो । गत वर्ष यही समयमा लिग २ का लागि स्कटल्यान्डको ग्लास्गो पुग्नुअघि नेपालले इंग्ल्यान्डमा विभिन्न अभ्यास खेल खेलेको थियो । 

नतिजा, नेपालले डन्डीमा लिग २ का चार मध्ये ३ खेले जितेको थियो, त्यसमा दुई नेदरल्यान्ड्स र एक स्कटल्यान्डविरुद्ध थियो । यो नेपालको विदेश भूमिमा खेलेको लिग २ को सबैभन्दा ठूलो सफलता हो, प्रदर्शन र अंकका आधारमा पनि । पहिलो खेलमा नेपालले स्कटल्यान्डको २ सय ९६ रनको लक्ष्य १ बलअगाडि पछ्याएको थियो । विजय लक्ष्य बनाउनेक्रममा नेपालको यो सबैभन्दा ठूलो स्कोर थियो । 

दोस्रो खेलमा नेदरल्यान्ड्सले बनाएको २ सय २५ रनलाई नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । तेस्रो खेलमा नेपालले विजय लक्ष्य पछ्याउनेक्रममा ३ सय २१ रन बनाए पनि २ रनको हार बेहोरेको थियो । तर यो नै नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा उच्च स्कोर हो । चौथो खेलमा नेपालले पहिला २ सय ३६ रन बनाउँदै नेदरल्यान्ड्सविरुद्ध १६ रनको जित हात पारेको थियो । स्कटल्यान्ड भ्रमणको १४ महिनापछि नेपाली ब्याटिङ स्तर आकाशबाट जमिनमा झरेजस्तै भएको छ । 

फितलो ब्याटिङले लिग २ को इतिहासमा नेपाललाई कमजोर टोलीको रूपमा उभ्याएको छ । सन् २०२४ मा क्यानडा भ्रमणमा मोन्टी देसाईको प्रशिक्षणमा नेपालले एउटै खेल जित्न सकेको थिएन, त्यसमा ३ हार थियो भने एक खेल रद्ध भएको थियो । गत वर्ष प्रशिक्षक स्टुवार्ट लको प्रशिक्षणमा यूएई भ्रमण नेपालका लागि अझ पीडादायी बन्यो । यूएई र अमेरिकासँग नेपाल २–२ खेलमा पराजित भयो । नेपालले पहिलो पटक लिग २ को सबै ४ खेलमा पराजय भोगेको थियो ।

नेदरल्यान्ड्स भ्रमणमा नेपालले पहिलो दुई खेलमा पराजय भोगिसकेको छ । अब नेपालले सोमबार नामिबिया र बुधबार नेदरल्यान्ड्ससँग खेल्दै छ । लिग २ को इतिहासमा थप खराब नहुन नेपालले यी दुई खेलमा उल्लेखनीय ब्याटिङ सुधार्नुपर्नेछ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully