नेपालले एसियाली खेलकुदमा जापान र अफगानिस्तानसँग खेल्ने

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)ले बिहीबार प्रकाशित गरेको खेल तालिकाअनुसार अक्टोबरमा जापानको नागोयामा हुने एसियाली खेलकुदमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

श्रावण ७, २०८३

कान्तिपुर संवाददाता

Nepal to play against Japan and Afghanistan in the Asian Games

काठमाडौं — नेपालको पुरुष क्रिकेट टोलीले एसियाली खेलकुदको समूह चरणमा आयोजक जापान र अफगानिस्तानसँग खेल्ने भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)ले बिहीबार प्रकाशित गरेको खेल तालिकाअनुसार अक्टोबरमा जापानको नागोयामा हुने एसियाली खेलकुदमा नेपाल समूह ‘ए’ मा रहेको छ । 

त्यस्तै समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान रहेका छन् । प्रत्येक समूहको शीर्ष टोली दोस्रो चरणमा पुग्ने छन् र शीर्ष वरीयताका टोलीहरू भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँग सोझै क्वाटरफाइनल खेल्ने छन् । 

एसियाली खेलकुदमा क्रिकेट चौथो पटक समावेश गरिएको हो । नेपालको पुरुष टोलीले चौथो पटक नै एसियाली खेलकुदमा सहभागिता जनाउन लागेको हो । नेपाल महिला क्रिकेट टोली भने यसपटक छनोटमै चुकेको थियो । 

सन् २०२२ मा चीनको हवानझाउमा भएको एसियाली खेलकुदको पछिल्लो संस्करणमा नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो ।अफगानिस्तान एसियाली खेलकुदको यसअघिको तीनै संस्करणमा उपविजेता बन्दै आएको छ । सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा अफगानिस्तानले नेपाललाई क्वाटरफाइनलमा ८ रनले पराजित गरेको थियो । १२० रनको लक्ष्य लिएर आएको नेपालले ७ विकेट गुमाई ११८ रन मात्र बनाउन सकेको थियो ।

आयोजक जापानलाई गत अक्टोबरमा नेपालले ट्वान्टी–२० विश्वकपको एसिया र एसिया प्यासिफिक छनोटमा ५ विकेटले पराजित गरेको थियो ।

कान्तिपुर

Link copied successfully