नेपाल पुनः १ सय ५७ रनमा अलआउट 

टस हारेपछि ब्याटिङमा आएको नेपाललाई बिहीबार नेदरल्यान्ड्सले उट्रेच्टमा ४४.४ ओभरमा १ सय ५७ रनमा अलआउट गर्‍यो ।

श्रावण ७, २०८३

विनोद पाण्डे

Nepal all out again for 157 runs

What you should know

काठमाडौँ — नेपालले क्रिकेट विश्वकप लिग २ मा पुनः कमजोर ब्याटिङ प्रदर्शन गरेको छ । टस हारेपछि ब्याटिङमा आएको नेपाललाई बिहीबार नेदरल्यान्ड्सले उट्रेच्टमा ४४.४ ओभरमा १ सय ५७ रनमा अलआउट गर्‍यो । नामिबियाविरुद्ध मंगलबार भएको खेलमा पनि नेपाल १ सय ५७ रनमै अलआउट भएको थियो । 

घरेलु टोली नेदरल्यान्ड्सविरुद्ध नेपालका ओपनिङ जोडी आसिफ शेख र कुशल भुर्तेलले सम्हालिएर खेल्ने प्रयास गरेका थिए । तर एलेक्स रोयले आसिफलाई पहिलो स्लिपमा नोह क्रोजबाट क्याच गराएपछि नेपाल इनिङ्सभरि दबिएर खेलेको थियो । आसिफले १७ बल खेली २ चौकासहित १४ रन बनाए । 

आसिफ आउट भएको दुई बलपछि केयल क्लाइनले कुशललाई ९ रनमा एलबीडब्लु आउट गरे । रोयले कप्तान रोहित पौडेललाई ३ रनमा एलबीडब्लु आउट गरे भने इशान पाण्डेलाई ४ रनमा विकेट किपरबाट क्याच गराए ।

दीपेन्द्रसिंह ऐरीले २१ रन बनाए । कुनै बाउन्ड्री प्रहार गर्न नसकेका उनले ४२ बल खेले । आरिफ शेखले नेपालबाट सर्वाधिक ४१ रन बनाए । उनले ९० बल खेली ४ चौका प्रहार गरे । आरिफ ४४ औं ओभरमा आठौं खेलाडीको रुपमा आउट भएका थिए । 

गुलशन झाले २९ रन बनाए । उनले ४२ बल खेली १ चौका र २ छक्का प्रहार गरे । सोमपाल कामी १० रनमा आउट भए । अन्तिम दुई विकेट सन्दीप लामिछाने रनआउट र ललित राजवंशी शुन्यमा एलबीडब्लु आउट भएपछि करण केसी १३ रनमा अविजित रहन बाध्य भए । 

नेदरल्यान्ड्सबाट रोय र रोइलोफ भान डेर मर्वीले ३–३ विकेट लिए । रोयले ८ ओभरमा १ मेडन राख्दै २४ र मर्वीले ६.४ ओभरमा १५ रन खर्चे । लोगन भान विकले २ विकेट लिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully