सावित्रीलाई अमरावतीको सम्मान

अमरावती बुटिकले सावित्रीलाई ५० हजारसहित सम्मान गरेको हो । उनले यू–१९ प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक रनकर्ता भएकी थिइन् ।

श्रावण ७, २०८३

कान्तिपुर संवाददाता

Savitri receives Amravati's honor

काठमाडौँ — एसीसी महिला यू–१९ प्रिमियर कपमा गरेको ऐतिहासिक प्रदर्शनका लागि अमरावती बुटिक होटलले सावित्री धामीलाई नगदसहित सम्मान गरेको छ ।

अमरावती बुटिकले सावित्रीलाई ५० हजारसहित सम्मान गरेको हो । उनले यू–१९ प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक रनकर्ता भएकी थिइन् । उनले कुल २ सय ५६ रन जोडिन् र नेपाली महिला यू–१९ क्रिकेटको इतिहासमा कीर्तिमान स्थापित गरिन् ।

उनले प्रतियोगितामा लगातार तीन अर्धशतक बनाइन् । महिला क्रिकेट इतिहासमै लगातार तीन अर्धशतक बनाउने उनी पहिलो नेपाली खेलाडी भइन् । उनको अविजित ७८ रनको योगदानमा नेपालले सिंगापुरलाई हराएको थियो । 

सावित्रीले यस सम्मानले आगामी दिनमा अझ मिहिनेत गरेर अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको नाम थप उँचो बनाउन प्रेरणा मिलेको बताइन् । अमरावती बुटिकका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले साबित्रीको उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा पनि नेपाली महिला क्रिकेटको इतिहासमा कोसेढुंगा साबित हुने बताए । 

उनको उपलब्धिको कदरस्वरूप अमरावतीले प्रदान गरेको सम्मानले युवा खेलाडीलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ । नेपालले एसीसी महिला यू–१९ एसिया कपमा स्थान बनाउन सावित्रीको प्रदर्शनको भूमिका रह्यो ।

कान्तिपुर

Link copied successfully