टस हारेपछि ब्याटिङमा आएको नेपाल ४६.५ ओभरमा केवल १ सय ५७ रनमा अलआउट भएको थियो । माइकल भान लिङ्गेन र यान फ्राइलिन्कको अर्धशतकपछि नामियबाले ३८ ओभरभित्रै १ सय ६० रन बनाएको थियो ।
What you should know
काठमाडौँ — विदेशी भूमिमा कमजोर ब्याटिङ प्रदर्शनले निरन्तरता पाएपछि नेपालले क्रिकेट विश्वकप लिग २ मा एक अर्को हार बेहोरेको छ । नेपाललाई मंगलबार नेदरल्यान्ड्सको उट्रेच्टमा नामिबियाले ८ विकेटको पराजय चखायो ।
टस हारेपछि ब्याटिङमा आएको नेपाल ४६.५ ओभरमा केवल १ सय ५७ रनमा अलआउट भएको थियो । माइकल भान लिङ्गेन र यान फ्राइलिन्कको अर्धशतकपछि नामियबाले ३८ ओभरभित्रै १ सय ६० रन बनाएको थियो ।
लिग २ मा विदेशी भूमिमा खेलिएको १७ खेलमा नेपालले भोगेको ११ औं हार हो । त्यसमा नेपालले ४ खेलमात्र जित्न सकेको छ भने २ अनिर्णित रहेको छ । ४ मध्येको ३ जित गत वर्ष स्कटल्यान्ड भ्रमणमा नेदरल्यान्ड्स र स्कटल्यान्डविरुद्ध रहेको थियो ।
घरेलु मैदानमा पनि नेपालले उम्दा प्रदर्शन गर्न सकेको छैन । २०२४ मा नेपाल आउदा नामिबियाले नेपालसँगको लिग २ को दुवै खेल जितेको थियो । अर्थात् लिग २ मा नेपालले नामिबियासँगको सबै ३ खेलमा पराजय भोगेको छ । घरेलु मैदानमा नेपालले लिग २ को ३ शृंखलाको १२ खेलमा ७ मा विजय हात पारेको थियो ।
यसले शीर्ष चारमा रहँदै सोझै विश्वकप छनोटमा पुग्ने नेपालको आशा पनि कमजोर बन्दै गएको छ । नेपाल २९ खेलमा २४ अंक बोकी आठ राष्ट्र सहभागी प्रतियोगिताको पाँचौं स्थानमा छ । लिग २ का शीर्ष चार टोली विश्वकप छनोटमा सोझै छनोट हुने प्रावधान रहेको छ ।
अमेरिका ४३, स्कटल्यान्ड ३८, नेदरल्यान्ड्स ३२, ओमान ३१ अंकसहित शीर्ष चार स्थानमा छ । नेपाल, नामिबिया र क्यानडा समान २४ अंक बोकी क्रमशः पाँचौंदेखि सातौं स्थानमा छ । यूएई १४ अंकका साथ पुछारमा छ ।
ठुलो आशासहित नेदरल्यान्ड्स पुगेर पहिलो खेल खेलेको नेपालले कमजोर सुरुआत गरेको थियो । खेलको पहिलो बलमा २ रन प्रहार गरेका कुशल भुर्तेललाई अर्को बलमा देब्रेहाते तीब्र बलर जेजे स्मिटले बोल्ड गरिदिए । स्मिटले इशान पाण्डेलाई पनि ८ रनमा बोल्ड नै गरे । ओपनर आसिफ शेख १६ रन बनाई बाउन्ड्री लाइनमा सानदार क्याच हुन पुगे ।
कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले चौथो विकेटमा ५३ रनको साझेदारी गरे । तर उनीहरु दुबै छोटो अन्तरमा आउट भएपछि नेपाल सस्तैमा अलआउट हुन पुग्यो । कुनै बाउन्ड्री प्रहार गर्न नसकेका रोहितले ६० बलमा सर्वाधिक ३१ रन बनाए । दीपेन्द्रले ५१ बल खेली २ चौकासहित ३० रन बनाए ।
दीपेन्द्रलाई बर्नान्ड स्कोल्ट्जले बोल्ड गरे । दुई बलपछि स्कोल्ट्जले आरिफ शेखलाई शुन्यमा एलबीडब्लु आउट गरे । बाँकी खेल स्मिटको नाममा रहयो । उनले तल्लोक्रमको चार विकेट लिदैं खेलमा आफ्नो विकेट संख्या कुल ६ पुर्याए । स्मिटले ९.५ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए । स्कोल्ट्जले १० ओभरमा २२ रनमात्र खर्चेर २ विकेट लिए ।
स्मिटले लिएका पछिल्ला चार विकेटमा सोमपाल कामी, गुलशन झा, करण केसी र नन्दन यादवको थियो । सोमपालले ३० बलमा १ चौकासहित १५, गुलशनले ३८ बलमा समान १ चौका र छक्का प्रहार गरी २०, करणले १५ बल खेली समान १ चौका र छक्काका साथ १८ तथा नन्दनले १ रन बनाए । सन्दीप लामिछाने १ रनमा अविजित रहे । नेपाली इनिङ्समा केवल ६ चौका र २ छक्कामात्र थियो ।
नामिबियाको ब्याटिङमा नन्दनले एलेजान्डर बुसिङ भोलसेन्कलाई २ रनमा विकेटकिपर आसिफबाट क्याच गराए । तर त्यो नेपालका लागि क्षणिक खुशीमात्र बन्यो । आफ्नो सन्यास फिर्ता लिदैं २ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरिरहेका लिङ्गेनले फ्राइलिन्कस“ग मिलेर नेपाली बलरलाई कुनै अवसर नदिई विजय दिलाए ।
लिङ्गेनले ७९ बल खेली ४ चौका प्रहार गरी ५१ रन बनाए । उनलाई पार्ट टाइम बलर रोहितले आफ्नो अफ स्पिनबाट बोल्ड गरे । उनले फ्राइलिन्कसँग दोस्रो विकेटमा ८७ रनको साझेदारी गरेका थिए । फ्राइलिन्कले ८९ बल खेली ८ चौका र १ छक्कासहित अविजित ७८ रन बनाए । उनले नै रोहितलाई विजयी चौका प्रहार गरेका थिए । यान निकोल लफ्टी इटन ३९ बल खेली १७ रनमा अविजित रहे ।
नेपालले बिहीबार नेदरल्यान्ड्ससँग खेल्ने छ । नेपालले लिग २ मा अब ७ खेल खेल्न बाँकी रहेको छ ।
