फाइनलमा अर्जेन्टिनालाई हराएपछि ६५ वर्षीय फुएन्तेले भने, ‘इमान्दारितापूर्वक भन्ने हो भने यति बेला म गर्व महसुस गरिरहेको छु ।’
काठमाडौँ — विश्वकप विजेता स्पेनी प्रशिक्षक लुइस डे ला फुएन्तेले उपाधिको यात्रा गर्वले भरिएको प्रतिक्रिया दिएका छन् । फाइनलमा अर्जेन्टिनालाई हराएपछि ६५ वर्षीय फुएन्तेले भने, ‘इमान्दारितापूर्वक भन्ने हो भने यति बेला म गर्व महसुस गरिरहेको छु ।’
उनी विश्वकपको उपाधि जित्ने सबैभन्दा पाको उमेरका प्रशिक्षक पनि भएका छन् । उनले भने, ‘यो टिमलाई उपाधिसम्म दोहोर्याउन पाएकोमा मैले आफूलाई भाग्यमानी मानेको छु ।’ यस्तै अर्जेन्टिनाविरुद्ध निर्णायक गोल गरेका फेरान टोरेसले पनि आफू असाध्यै खुसी रहेको बताएका छन् ।
उनले भने, ‘यो गोल खासमा चार करोड ७० लाख स्पेनीले गरेका हुन् ।’ उनले स्पेनको कुल जनसंख्यालाई इंगित गर्दै यस्तो भनेका हुन् । ‘जति बेला विपक्षी टिममा लियोनल मेसीजस्ता खेलाडी हुन्छन्, सबै आत्तिन्छन् नै । तर हामीले फेरि एकपटक टिम खेल खेल्यौं, आफैंमा निर्भर रहेर ।’
यस्तै गोल्डेन बल अवार्ड जितेका रोड्रीले पनि फाइनलपछि खुसी व्यक्त गर्दै भने, ‘मलाई लाग्छ, अहिले म बादलसँगै उडिरहेको छु । खेलअघि मैले सबै खेलाडीलाई विपक्षीसँग आँखा जुधाएर खेल्न भनेको थिएँ । एउटा खेलाडीले फेरि दोहोर्याएर विश्वकप जित्ने भन्ने नै हुँदैन ।’
