विश्वकप  विजेतालाई विशेष औंठी

ट्रम्प, स्पेनका प्रधानमन्त्री, राजा फाइनलमा आउने, अर्जेन्टिनी राष्ट्रपतिको अन्धविश्वास

श्रावण १, २०८३

एएफपी

Special ring for World Cup winner

What you should know

न्युयोर्क — अर्जेन्टिना र स्पेनबीचको विजेता खेलाडीलाई विश्व फुटबलको सर्बोच्च संस्था फिफाले विश्वकप विशेष औंठी प्रदान गर्ने भएको छ । अमेरिकाको खेलकुदमा विजेतालाई औंठी दिने चलन छ । एनएफएलको सुपरबल विजेता खेलाडीलाई औंठी दिँदै आएको परम्परा छ ।

फिफाले २०२६ को संस्करण भएकाले २०२६ नै औंठी तयार पारेको जनाएको छ । विश्व च्याम्पियन टोलीका ३० सदस्यलाई यो औंठी प्रदान गरिनेछ भने १ हजार ९ सय ९६ औंठी बिक्रीमा राखिनेछ । प्रत्येक औंठीमा विश्वकप ट्रफीको डिजाइन र ब्यान्डमा एक गहिरो लेखाइ समावेश गरिएको छ ।

फाइनलका प्रमुख अतिथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुने भएको बीबीसीले जनाएको छ । उनले नै विजेतालाई ट्रफी प्रदान गर्नेछन् । यस विश्वकपका अहिलेसम्म १ सय २ खेलमा ट्रम्प उपस्थित थिएनन् । उनले अमेरिकाको खेल पनि मैदानमा गएर हेरेका छैनन् ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज पनि फाइनल हेर्न अमेरिका जाने उनको कार्यालयले जनाएको छ । सान्चेज अमेरिकी राष्ट्रपति ट्रम्पका प्रखर आलोचक हुन् । सान्चेजको आइतबार न्यु जर्सीमा विश्वकप फाइनल हेरेर आधिकारिक भ्रमणमा अल्जेरिया जाने कार्यक्रम छ ।

स्पेनका राजा फिलिप छैटौं र रानी लेटेजियासहित दुई छोरी पनि विश्वकप फाइनलमा उपस्थित हुने रोयल प्यालेसले जनाएको छ । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेइले भने अन्धविश्वासका कारण फाइनल हेर्न जाने योजना रद्द गरेका छन् ।

फाइनल हुनु दुई दिनअगाडि न्युयोर्कको मौसम प्रभावित बनेको छ । क्यानडाको जंगलमा लागेको डढेलोका कारण न्युयोर्कको वातारवरण प्रदुषित बनेको हो । तर त्यसले मेटलाइफ रंगशालामा प्रभावित पार्ने सम्भावना नरहेको जनाइएको छ ।

एएफपी

Link copied successfully