इंग्ल्यान्डले वर्षौवर्ष सफलता नजिक पुगेर पनि चुक्नुपरिरहेको थियो, यस्तोमा यी जर्मन प्रशिक्षकलाई त्यस पीडाबाट मुक्त गराउन सक्ने व्यक्तित्व मानिएको थियो ।
What you should know
एटलान्टा — थोमस टचेललाई इंग्ल्यान्ड प्रशिक्षक नियुक्त गरिँदा ठूलै हल्ला गरिएको थियो । त्यतिबेला टचेल आफैले दाबी गरेका थिए, आफ्नो उद्देश्य भनेको इंग्ल्यान्डलाई दोस्रो विश्वकपको उपाधि दिलाउनु हो ।
इंग्ल्यान्डले वर्षौवर्ष सफलता नजिक पुगेर पनि चुक्नुपरिरहेको थियो, यस्तोमा यी जर्मन प्रशिक्षकलाई त्यस पीडाबाट मुक्त गराउन सक्ने व्यक्तित्व मानिएको थियो । यसअघिका प्रशिक्षक गारेथ साउथगेटको नेतृत्वमा इंग्ल्यान्डले नयाँ पुस्ताका प्रतिभाशाली खेलाडीको मदतमा दुई ठूला फाइनल खेलेको थियो । सँगै विश्वकपको एक सेमिफाइनल र एक क्वाटरफाइनल पनि । तर ती सबै अभियानको अन्त्य खराब नै रह्यो । त्यतिबेला साउथगेटमाथि लाग्ने गरेको आरोप थियो, यी प्रशिक्षक चाहिएका बेला खेलमा रणनीति फेर्न असक्षम छन् ।
सन् २०२१ को युरोपेली च्याम्पियन्स लिगको फाइनलमा टचेलको चेल्सीले पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीलाई पन्छाएर उपाधि जितेको थियो । त्यसैले उनले केही विषेश गर्ने आस नै थियो । तर बुधबार सेमिफाइनलमा इंग्ल्यान्डको हातबाट पराजित भएपछि त्यही पुरानो कथा र पीडा दुवै दोहोरिएको छ । इंग्ल्यान्डले यसपल्ट सुरुआती अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसकेको हो ।
सन् २०१८ को विश्वकपयता इंग्ल्यान्डले ठूला प्रतियोगिताको सेमिफाइनलमा अग्रता लिएर पनि जित हात पार्न नसकेको यो तेस्रोपल्ट हो । अब भने धेरै पुराना खेलाडी र आलोचकले यसपल्ट इंग्ल्यान्डको हारमा टचेल नै दोषी मानेका छन् । उनीहरूको आरोप छ, इंग्ल्यान्डले ५५ औं मिनेटमा एन्थोनी गोर्डनको गोलबाट अग्रता लिएपछि तुरुन्तै असाध्यै धेरै रक्षात्मक रणनीति अपनाएको थियो ।
हुन पनि खेलको अन्त्यतिर अर्जेन्टिना पूर्णतः इंग्ल्यान्डको आधा भागमा व्यस्त थियो । यसक्रममा आक्रमणको शृंखला बुनिरहेको थियो । फलस्वरुप इन्जो फर्नान्डेज र लाउटारो मार्टिनेज अर्जेन्टिनाका लागि गोल निकाल्न पनि सफल रहे ।
इंग्ल्यान्डका पूर्व खेलाडी माइकल ओवेनले यसपल्टको हारको कारण दोस्रो हाफमा टचेलले लिएको रणनीति मानेका छन् । उनले एक्समा लेखेका छन्, ‘यो खेलमा अर्जेन्टिनाको तुलनामा इंग्ल्यान्ड नै राम्रो टिम थियो, यसमा मलाई कुनै दुविधा छैन । तर हामी नै हारको हकदार रह्यौं । मलाई त के लागेको थियो, हार ४–१ सम्म हुन सक्थ्यो । एक गोलले अगाडि रहेका बेला तीन डिफेन्डरलाई मैदानमा उतार्दा त्यसले राम्रो सन्देश गएन । त्यतिबेला इंग्ल्यान्डले बलमाथि बढी नियन्त्रण लिएर खेल्ने बहादुरी देखाउनुपर्थ्यो ।’
टचेलले हारका लागि माफी त मागेका छन्, तर यसको सबै दोष दोस्रो हाफमा आफूले गरेको सब्स्टिच्युसनको निर्णय दिनैपर्ने आरोपलाई अस्वीकार गरेका छन् । उनले भनेका छन्, ‘हारपछि सबैले आलोचना गर्नु स्वाभाविक हो । फुटबल खेलको नियति नै यस्तै छ । मैले फरक रणनीति बनाएको भए, के नतिजा हुन्थ्यो, त्यो त कसैलाई थाहा छैन । तर हारको सबै जिम्मेवारी भने म लिन तयार छु । त्यसैले आलोचना पनि सहन तयार छु ।’
