एनभीएलको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनमा

नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक अश्विन केडिया र कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसीले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

असार ३२, २०८३

कान्तिपुर संवाददाता

Live broadcast of NVL on Kantipur Television

काठमाडौँ — नेपालमै पहिलो पटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टेलिभिजन रहेको छ । एनभीएल भदौ पहिलो साता हुने बताइएको छ ।

नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक अश्विन केडिया र कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसीले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा कान्तिपुर टेलिभिजनका मार्केटिङ म्यानेजर अनुपम अधिकारी, नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्याय र एनभीएलका सीओओ विकास खेतान पनि सहभागी थिए । 

सम्झौतासँगै अब नेपाल भलिबल लिगको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गर्नेछ । नेपाल भलिबल लिगको चरणबद्ध तयारीलाई अगाडि बढाउने क्रममा खेलस्थलमै आएर खेल हेर्न असमर्थ दर्शकलाई मध्यजनर गरी प्रत्यक्ष प्रशारणका लागि कान्तिपुर टेलिभिजनसँग सम्झौता गरेको आयोजक केडिया ग्रुपले जनाएको छ ।

आयोजकका अनुसार यो सम्झौताले नेपाली भलिबलको विकास र विस्तारमा सहयोग पुग्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भलिबलको पहिचान अझ फैलाउन मदत पुग्ने विश्वास छ ।

यसअघि एनभीएलका ६ फ्रेन्चाइज टोली, मालिक, लोगो, मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक सार्वजनिक भइसकेको छ । टिकेटिङ पार्टनरमा आईएमइ खल्ती लिमिटेडसँग सम्झौता गरेको थियो ।

एनभीएलमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली शिवराज र खप्तड फाल्कन्सले प्रतिस्पर्धा गर्नेछन् ।

कान्तिपुर

Link copied successfully