इर्लिङ हालान्डको टोली शनिबार मियामीमा भएको अन्तिम आठको खेलमा अतिरिक्त समयमा इंग्ल्यान्डसँग २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
ओस्लो, (एएफपी) — विश्वकपको क्वाटरफाइनलसम्मको ऐतिहासिक यात्रा पूरा गरी स्वदेश फर्किएका नर्वेका खेलाडीलाई ओस्लोमा करिब ९० हजारभन्दा बढी मानिसले स्वागत गरेका छन् ।
इर्लिङ हालान्डको टोली शनिबार मियामीमा भएको अन्तिम आठको खेलमा अतिरिक्त समयमा इंग्ल्यान्डसँग २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । विश्वकपमा नर्वेको यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो ।
टोली आइपुग्दा राजधानी ओस्लोस्थित राजदरबार अगाडिको चोकमा मानिसहरूको बाक्लो भिड जम्मा भएको थियो । उनीहरूले विश्वकपमा आफ्नो टोलीले विजय पाउँदा प्रस्तुत गरेको ‘भाइकिङ रो’ प्रदर्शन गरेका थिए ।
५६ लाख जनसंख्या भएको नर्वेका राजकुमार हाकोनले ड्रम बजाएर उत्सवको नेतृत्व गरेका थिए । उनी मियामीमा भएको क्वाटरफाइनल खेलमा पनि सहभागी भएका थिए ।
‘हामीले पाएको समर्थन र देशले हामीलाई कति धेरै साथ दिइरहेको छ भन्ने देख्दा साँच्चै अविश्वसनीय लागिरहेछ,’ कप्तान मार्टिन ओडेगार्डले सार्वजनिक प्रसारण एनआरकेसँग भने । ‘यो साँच्चै उत्कृष्ट छ,’ आर्सनलका प्लेमेकरले थपे ।
हालान्ड त्यस दिन अलि अगाडि नै नर्वे आइपुगेका थिए । उनले सामाजिक सञ्जालमा एउटा जनावरको खेलौना बोकेर विमानबाट ओर्लिरहेको तस्बिर पोस्ट गरेका थिए, उक्त खेलौनाको पञ्जामा सिसाको बोतल थियो ।
एनआरकेका अनुसार विश्वकपमा ७ गोल गरेका म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्ड भने अर्को विमान समात्नुपर्ने भएकाले कार्यक्रममा उपस्थित हुन सकेनन् ।
