भक्तपुरको थिमि नगरपालिकाको लोकन्थलीमा अन्तराष्ट्रिय स्तरको पौडी पोखरी सञ्चालनमा आएको हो ।
काठमाडौँ — पौडीलाई नै कर्मथलो बनाएका तथा पौडी खेलमा आफ्नो कौशलता प्रदर्शन गरिसकेका पौडीकर्मीहरुको पहलमा ‘डुबुल्की’ नामक पौडी पोखरी सञ्चालनमा आएको छ ।
भक्तपुरको थिमि नगरपालिकाको लोकन्थलीमा अन्तराष्ट्रिय स्तरको पौडी पोखरी असार २७ गतेदेखि सञ्चालनमा आएको सञ्चालक तथा नेपाली पौडीका पूर्व प्रमुख प्रशिक्षक ईश्वर कार्कीले बताए ।
कार्की अध्यक्ष रहेको डुबुल्की नामक संस्थामा हालका प्रमुख प्रशिक्षक शंकर कार्की, पूर्वखेलाडी उमेश प्रधान, गोपाल पाण्डे, विनोद श्रेष्ठ, शोभा सिंह लगायत पौडीसँग सम्बन्धित व्यक्तित्वहरुको सहभागिता रहेको छ ।
४२ आना जग्गामा २५ मिटर लम्बाइ, १५ मिटर चौडाइ र ३ फिट ५ इन्चदेखि ५ फिट ५ इन्च गहिराइको ६ लेनको अन्तराष्ट्रिय स्तरको एक र अर्को १५ मिटर लम्बाइ र ६ मिटर चौडाइको साना बालबालिकाहरुका लागि एक गरी दुई पोखरी सञ्चालन आएको हो ।
करिब ५ करोडको लगानीमा सञ्चालन हुने उक्त डुबुल्की पौडी क्षेत्रमा एक स्टिम, सौना बाथसहितको जिम पनि सञ्चालन हुने सञ्चालक मध्यका एक पूर्वपौडी खेलाडी एवं सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका उपाध्यक्ष उमेश प्रधानले जानकारी गराए । प्रधानका अनुसार जिम, स्टिम र सौना तिहार लगत्तै सञ्चालन गरिने छ ।
आफूहरु पौडी खेलाडी हुँदै पौडीको विकास र विस्तारमा दत्तचित्त भएर अधिकांश समय पौडीमा नै खर्च गर्दै आइरहेको र साना बालबालिकाहरुलाई पौडी खेलमा आकर्षित गर्दै अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित पौडीमा नै लगानी गर्ने मनसायका साथ पौडी पोखरी सञ्चालन गर्न लागिएको सञ्चालक प्रधानले जानकारी गराए ।
बालबालिकाका लागि आधारभूत पौडी प्रशिक्षण प्रदान गर्ने र पौडी खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको प्रधानले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुका लागि प्रशिक्षण गर्न डुबुल्की सदा खुला रहने आयोजकले जनाएका छन् ।
