इन्डोर सेलेब्रिटी क्रिकेट लिगको अक्सन 

साउन १ गते शुक्रबार हुने प्रतियोगिता क्रिकेट एक्सिलेन्स सेन्टरको इन्डोर ग्राउण्डमा हुनेछ ।

असार २८, २०८३

कान्तिपुर संवाददाता

काठमाडौँ — सेलिब्रेटी क्रिकेट उत्सवको आयोजनामा हुन गइरहेको 'इन्डोर सेलेब्रिटी क्रिकेट लिग'को खेलाडी अक्सन भएको छ । प्रतियोगितामा सहभागी हुने चार टोलीहरू—टिम वारियर्स, टिम च्याम्पियन्स, टिम रेन्जर्स र टिम टाइटन्सले अक्सनमार्फत आफ्ना खेलाडीहरू अनुबन्धित गर्दै टोलीलाई पूर्णता दिएका छन् ।

साउन १ गते शुक्रबार हुने प्रतियोगिता क्रिकेट एक्सिलेन्स सेन्टरको इन्डोर ग्राउण्डमा हुनेछ । अक्सनमा इन्टरनेसनल इभेन्ट म्यानेजर विक्रान्त कार्की, चर्चित आख्यानकार विप्लव प्रतीक, टिम रेन्जर्सका कप्तान एवं लोकदोहोरी गायक बद्री पंगेनी र टिम च्याम्पियन्सका कप्तान एवं हास्य कलाकार सन्दीप क्षेत्री लगायतको उपस्थिति रहेको थियो । 

क्रिकेट उत्सवका फाउन्डर विवेक खतिवडाले यस्ता खेलकुद लिगहरूले कलाकार तथा सम्पूर्ण खेलाडीहरूको खेल भावनालाई विकास गर्ने र सबैलाई एकताको सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रतियोगात्मक लिगको संयोजन सेलेब्रिटी क्रिकेट लिगका को-फाउन्डर सञ्जीव उपाध्यायले गरेका हुन् ।

फाइनल भएका चारवटै टोली 

टिम च्याम्पियन्स :

चर्चित कलाकार सन्दीप क्षेत्रीको कप्तानीमा रहेको यस टोलीमा सन्तोष उपाध्याय, गायक रवि ओड, पुरुषोत्तम मल्लिक, सौरभ शर्मा (विकेटकिपर), अभि निरौला (फास्ट बलर), क्रिश बम, सोनाम पाख्रिन, रमेश चन्द सोडारी र टंक तिमिल्सिना अनुबन्धित भएका छन् ।

टिम रेन्जर्स :

लोकदोहोरी गायक बद्री पंगेनीको कप्तानीमा रहेको यस टोलीमा पेमा लामा, भ्योमा, कविर खड्का, मौसम हिमाली, सुरेश न्यौपाने, सञ्जीव, सुबिज्ञराज पाण्डे, विजु पार्की र मोहन खड्का रहेका छन् ।

टिम वारियर्स :

विप्लव प्रतीकको कप्तानीमा मैदान उत्रिने यस टोलीको मार्की खेलाडीमा दिलिप ओखेडा रहेका छन् । टोलीका अन्य सदस्यहरूमा भरत कार्की (विकेटकिपर), सन्तोष बानियाँ, आकाश खड्का, जेरी भण्डारी, लोकी रेग्मी, लक्की आचार्य र पासाङ योञ्जन लामा रहेका छन् ।

टिम टाइटन्स:

विक्रान्त कार्कीको कप्तानीमा रहेको यस टोलीको मार्की खेलाडीमा नायक सुधिर श्रेष्ठ चयन भएका छन् । टोलीका अन्य खेलाडीहरूमा सौगात विष्ट, सरोज भण्डारी, अनित विष्ट, दिपु कर्ण, सञ्जिव पाठक र राजेश बिसी रहेका छन् ।

कान्तिपुर

Link copied successfully