मलेसियाको बायुमास क्रिकेट ओभलमा भएको खेलमा नेपालले कतारलाई १०५ रन अन्तरले हराएको छ ।
काठमाडौँ — शनिबारदेखि मलेसियाको क्वालालम्पुरमा सुरु भएको एसीसी यू–१९ ट्वान्टी ट्वान्टी महिला प्रिमियर कपमा नेपाली टोलीले उत्कृष्ट विजयी सुरुवात गरेको छ ।
मलेसियाको बायोमास क्रिकेट ओभलमा भएको खेलमा नेपालले कतारलाई १०५ रन अन्तरले हराएको छ । पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा कतार १२ ओभरमै अलआउट हुँदै मात्र २५ रनमा समेटियो ।
नेपालका लागि ब्याटिड्डमा सावित्री धामीले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेलिन् । उनले ४७ बलको सामना गर्दै ५ चौका हिर्काइन् ।
यस्तै सना प्रविणले २७, एन्जिला पाठकले २३ र त्रिसना विश्वकर्माले ५ रन बनाइन् । नेपालले आफ्नो पारीमा मात्र ३ विकेट गुमाएको थियो ।
कतारका लागि लिहारा अवेक्षाकाराले २ र मेहजा मेहविसले १ विकेट लिए । जवाफी ब्याटिङमा कतारी टिम मात्र २५ रनमा अलआउट भयो । उसका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सरगम पटेलले सर्वाधिक ४ रन बनाइन् ।
कतारको ब्याटिङ लाइन ध्वस्त पार्ने क्रममा नेपालका तर्फबाट रचनाकुमारी चौधरी र रिया शर्माले ३/३ विकेट निकाले भने मनिषा उपाध्यायले २ र अनु कठायतले १ विकेट लिए । नेपाली टोलीले अर्को खेल भोलि सिंगापुर यू–१९ टोलीसँग खेल्नेछ ।
