विश्वकप फुटबल क्वाटरफाइनल चरण पुग्दा अब ‘हेभिवेट’ टिमको बाहुल्य।
What you should know
कान्सास सिटी — विश्वकप फुटबलमा अब आठ टिम मात्र बाँकी रहेका छन् । प्रतियोगिता क्वाटरफाइनल चरण पुग्दा त्यस्ता टिमको मात्र चुनौती बाँकी छ, जसलाई ‘हेभिवेट’ भन्न सकिन्छ । यस्तोमा यी टिमबीचका खेल पनि आफैंमा माथिल्लो स्तरको हुनेछ । प्रतियोगिताको अन्तिम आठ चरणको समीकरण कसरी तयार भएको छ त ? अब त्यसमै नजर लगाउने छौं ।
फ्रान्सविरुद्ध मोरक्को
बलियो फ्रान्सले अहिलेसम्म त्यसरी खेलेको छ, जसरी उपाधिको बलियो प्रत्याशीको रूपमा खेल्ने अपेक्षा थियो । समूह चरण सजिलै काटेको फ्रान्सले त्यसपछि स्विडेन र पाराग्वेलाई पन्छाएको हो । डिडियर डेसच्याम्पको टिमलाई चुपचाप पार्न सक्ने टिम यो विश्वकपमा देखिएको छैन । फ्रान्सेली आक्रमणमा केलियन एमबाप्पे, ओसमन डेम्बेले र ब्राडली बार्कोलाजस्ता खेलाडीसम्मिलित छन् । माइकल ओलिसले मध्यपंक्तिबाट राम्रो गरिरहेका छन् ।
मोरक्को आफैं पनि अपराजित छ । दुईपल्टको विश्वकप च्याम्पियनको सामना गर्नु अगाडि मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी शुटआउट र सह–आयोजक क्यानडालाई नकआउट चरणमा हराएको थियो । बोस्टनमा हुने अबको खेल अगाडि मोरक्कोको मनमा बदला लिने उद्देश्य हुनेछ ।
यस्तो किनभन्दा चार वर्षअगाडि कतारमा भएको सेमिफाइनलमा मोरक्को फ्रान्सकै हातबाट २–० ले पराजित भएको थियो । त्यतिबेला मोरक्कोले विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी देश भएर तहल्का मच्चाएको थियो । यसपल्ट यस्तै उपलब्धि दोहोर्याउने उद्देश्य रहनेछ । त्यसैले यो विश्वकपमा फ्रान्सको सबैभन्दा ठूलो परीक्षा यही खेलमा हुनेछ ।
स्पेनविरुद्ध बेल्जियम
आफ्नो पछिल्लो खेलमा पोर्चुगललाई १–० ले हराएयता स्पेनले यस विश्वकपमा नयाँ दुर्लभ विश्व कीर्तिमान नै बनाएको छ भन्दा हुन्छ । स्पेनले अहिलेसम्म एकै गोल पनि खाएको छैन र यसक्रममा आफूले खेलेका सबै खेलमा ‘क्लिन सिट’ राखेको छ । त्यसो त लुइस डे ला फुन्टेको युरोपेली च्याम्पियनले अहिलेसम्म त्यस्तो खेलको प्रदर्शन गरेको छैन, जसलाई अत्यधिक आकर्षक मान्न सकियोस् ।
तर टिमको प्रदर्शन आफैंमा उच्च छ र बलमाथि उसकै बढी नियन्त्रण छ । बार्सिलोना स्टार लामिन यामलले ५ खेलमा एक गोल मात्र गरेका छन्, तर मिकेल आयारजाबलले ४ गोल गरिसकेका छन् । अस्ट्रियाविरुद्ध अन्तिम ३२ चरणमा प्राप्त जितमा उनले दुई गोल गरेका थिए । बेल्जियमले स्पेनको सामना गर्दा त्यसको पृष्ठभूमिमा हुनेछ, सह–आयोजक अमेरिकामाथिको ४–१ को जित ।
त्यसअगाडि सेनेगलमाथि अन्तिम ३२ को चरणमा प्राप्त जितमा त बेल्जियमले दुई गोलले पछाडि रहेको स्थितिबाट पुनरागमन रचेको हो । पछि अतिरिक्त समयमा टोलीको जित निश्चित भएको थियो । यो प्रतियोगिता बेल्जियमको स्वर्णिम पुस्ताका खेलाडी केभिन डे ब्रुयना र रोमेलु लुकाकु जस्ता खेलाडीको अन्तिम विश्वकप रहनेछ, त्यसैले उनीहरू पनि आफ्नो छाप छाड्न चाहन्छन् ।
नर्वेविरुद्ध इंग्ल्यान्ड
इंग्लिस डिफेन्ससामु नर्वेली स्टार इर्लिङ हालान्डको सामना गरेको अनुभवको कुनै कमी छैन । इंग्लिस प्रिमियर लिगमा लगातार खेलेको आधारमा हालान्डलाई रोक्ने उपाय तिनलाई जति अरूलाई थाहा छैन । तर मूल प्रश्न के हुनेछ भने के साँच्चै इंग्ल्यान्ड यसपल्ट हालान्डलाई रोक्न सफल हुनेछ त ? थोमस टचेलको प्रशिक्षणमा रहेको इंग्ल्यान्ड अमेरिका आइपुग्दा उपाधिको बलियो प्रत्याशीमध्ये एक थियो ।
इंग्ल्यान्ड दोस्रोपल्ट विश्वकप जित्न चाहन्छ । त्यसै अनुसार इंग्ल्यान्डका लागि दुई प्रमुख खेलाडी कप्तान ह्यारी केन र जुड बेलिङ्घमले राम्रो गरेका छन् । इंग्ल्यान्डले गरेका ११ गोलमध्ये १० त उनीहरूकै नाममा छ । मेक्सिकोविरुद्ध प्राप्त ३–२ को जितमा तीनै गोल उनीहरूको नाममा रह्यो । १० खेलाडीमा सीमित रहेर सह–आयोजकमाथि प्राप्त जितले इंग्ल्यान्ड उत्साही रहेको छ ।
अब भने मियामीमा हुने खेलमा उत्कृष्ट लयमा रहेका हालान्ड हुनेछन् र उनले अहिलेसम्म ७ गोल गरिसकेका छन् । गोल्डेन बुट अवार्डका लागि उनी बलियो प्रत्याशी रहेका छन् । म्यानचेस्टर सिटीका खेलाडीले नर्वेका लागि खेलेको पछिल्ला १४ खेलमा लगातार गोल गरेका छन् । यो भनेको २७ गोल हुन्छ । यही एक तथ्यांकले भन्छ, यी खेलाडी इंग्ल्यान्डको डिफेन्स तोड्न सक्षम हुनेछन् ।
अर्जेन्टिनाविरुद्ध स्विट्जरल्यान्ड
लियोनल मेसीको अर्जेन्टिनाले क्वाटरफाइनलमा स्विट्जरल्यान्डसँग भेट निश्चित गर्न गाह्रै परेको थियोभन्दा हुन्छ । सबैभन्दा पहिले विश्वकपमा डेब्यु गरिरहेको केप भार्डेले अर्जेन्टिनालाई अतिरिक्त समयको खेल खेल्न बाध्य पारेको थियो । त्यसमा अर्जेन्टिनालाई जित निकाल्न सजिलो रहेन । अन्तिम १६ को चरणमा अर्जेन्टिनाले इजिप्टमाथि रचेको जित अझ धेरै नाटकीय रह्यो ।
इजिप्टविरुद्ध दुई गोलले पछाडि रहेको स्थितिमा लागिरहेको थियो, अब घर फर्कने पालो अर्जेन्टिनाको हो, तर डिफेन्डिङ च्याम्पियन विश्वकप इतिहासकै एक उत्कृष्ट पुनरागमन रच्न सफल रह्यो । यसको केन्द्रमा रहे तिनै मेसी । यी दुई खेलपछि प्रशिक्षक लियोनल स्कोलानीलाई के लागेको हुनुपर्छ भने आफ्नो टिमलाई सधैं भाग्यले साथ दिनुपर्छ भन्ने हुन्न ।
कान्सास सिटीमा अब हुने खेलमा स्विट्जरल्यान्डको सामना गर्दा त्यो पनि सजिलो खेल हुने छैन । स्विस टिमले भ्यानकोभरमा भएको खेलमा कोलम्बियाविरुद्ध गोलरहित बराबरी खेलेपछि पेनाल्टी शुटआउटमा जित निकालेको हो । सन् १९५४ यता पहिलो पटक अन्तिम आठको चरण खेलिरहेको स्विस टिमको अहिलेसम्मको प्रदर्शनले भन्छ, यसको रक्षापंक्ति तोड्न पक्कै सजिलो छैन ।
