उपाधि विजेता प्रकाशचन्द्र नेपालले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । दोस्रो हुने धनकुटाका सुमन श्रेष्ठले नगद १५ हजार र तेस्रो भएका ललितबहादुर राईले नगद १० हजार पाए ।
What you should know
खोटाङ — कोशी प्रदेश स्तरीय बुद्धिचालको उपाधि झापाका प्रकाशचन्द्र नेपालले जितेका छन् । दिक्तेलमा मंगलबार सम्पन्न खेलमा धनकुटाका सुमन श्रेष्ठलाई पराजित गर्दै नेपालले उपाधि चुमेका हुन् ।
नेपालले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । दोस्रो हुने धनकुटाका सुमन श्रेष्ठले नगद १५ हजार पाए । सुनसरीका ललितबहादुर राई तेस्रो भए । उनले नगद १० हजार पाए ।
त्यसै गरी महिलातर्फको खेलमा खोटाङ ऐसेलुखर्ककी कुसुम घिसिङ प्रथम भइन् । उनले ताप्लेजुङकी लीला सेनेहाङलाई पराजित गर्दै जित सुनिश्चित गरेकी हुन् । प्रथम हुने घिसिङले नगद ७ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र तथा दोस्रो हुने सेनेहाङले नगद ५ हजार पाइन् । खोटाङ हलेसीकी तपस्या कार्कीले तेस्रो हुँदै नगद ४ हजार पाइन् ।
त्यसैगरी हिल च्याम्पियनमा ताप्लेजुङका ङिमा शेर्पा, खोटाङ प्रथम हलेसीका मनकुमार राई र दिक्तेल रूपाकोट मझुवागढी नगर प्रथम आयुस राई घोषित भएका छन् । उनीहरूले क्रमशः ४ हजार र ३ हजार नगद पाए ।
अन्डर–१६ मा पञ्च मावि दिक्तेलका अभिशेख आचार्य र अण्डर १२ मा पनि पञ्च माविकै क्रिसल प्रधान विजयी भए । उनीहरूले क्रमशः ४ हजार र ३ हजार पाए ।
विद्यार्थीतर्फ पञ्च मावि दिक्तेलका राकेश राई प्रथम, दिक्तेल इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलका कमल राजभण्डारी दोस्रो र सरस्वती माविका सुशान्त राई तेस्रो भए । उनीहरूले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पाए ।
उक्त प्रतियोगिता कोशी प्रदेश खेलकुद विकास बोर्डको आर्थिक सहयोगमा नेपाल खेलकुद प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको हो । प्रतियोगितामा कोशी प्रदेश बुद्धिचाल संघको सह–आयोजना, जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन र जिल्ला बुद्धिचाल संघ खोटाङको व्यवस्थापन रहेको थियो ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यता, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, बुद्धिचाल संघ कोशी प्रदेशका अध्यक्ष सुरेन्द्र राईको विशेष आतिथ्यतामा प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न गरिएको थियो ।
