एनपीएल अक्सन नेपाली क्रिकेटर कुन टिममा को ?

एनपीएलको सोमबार भएको मिनी अक्सनमा नेपाली क्रिकेटरले राम्रो मूल्य पाएका छन् । नेपाली राष्ट्रिय टोलीका विकेटकिपर एवं ओपनिङ ब्याटर आसिफ शेख २० लाखमा लुम्बिनी लायन्समा अनुबन्ध भए ।

असार २३, २०८३

विनोद पाण्डे

NPL Auction Nepali Cricketer Who is in Which Team?

What you should know

काठमाडौँ — आसिफ शेखलाई अक्सनबाट लिएपछि लुम्बिनी लायन्स आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को क्रिकेटमा थप बलियो भएको छ ।

एनपीएलको सोमबार भएको मिनी अक्सनमा नेपाली राष्ट्रिय टोलीका विकेटकिपर एवं ओपनिङ ब्याटर आसिफले पूरा भाउ पाएका थिए । 

आसिफले दुई वर्ष अगाडि पहिलो सिजनमा जनकपुर बोल्ट्सलाई एनपीएलको उपाधि दिलाउन प्रमुख भूमिका खेलेका थिए ।

तर दोस्रो सिजनमा उनको सोहीअनुरूपको प्रदर्शन नहुँदा जनकपुर अंकतालिकामा पुछारमा पुगेको थियो । एनपीएलका लागि छनोट भएका ८ फ्रेन्चाइज टोलीको मार्कीमा कप्तानीको जिम्मेवारी नपाउने आसिफ मात्र थिए । 

NPL Auction Nepali Cricketer Who is in Which Team?

एनपीएलको सोमबार भएको मिनी अक्सनमा नेपाली क्रिकेटरले राम्रो मूल्य पाएका छन् । नेपाली राष्ट्रिय टोलीका विकेटकिपर एवं ओपनिङ ब्याटर आसिफ शेख २० लाखमा लुम्बिनी लायन्समा अनुबन्ध भए ।गत सिजन जनकपुरको कमजोर प्रदर्शन चलिरहँदा अनिल साहले प्रतियोगिताको बीचैमा कप्तानी छाडेका थिए । तर जनकपुरले उनको स्थानमा दक्षिण अफ्रिकाका वायने पार्नेललाई कप्तानी दिएको थियो । पार्नेल पनि घाइते भएको समयमा जनकपुरले अर्का विदेशी खेलाडी नामिबियाका यान लफ्टी इटनलाई नेतृत्व सुम्पेका थिए । सो क्रममा एक खेल दौरान मैदानको बीच भागमै आसिफ र जनकपुर बोल्ट्सको प्रशिक्षण टोलीबीच निकै लामो छलफल चलेको थियो ।

तेस्रो सिजनका लागि आसिफले रिलिज लिएपछि अक्सनमा पुगेका थिए । मार्की छाडेका कारण आसिफ ‘ए’ श्रेणीमा झरेका थिए, जसका कारण उनको बोली १० लाखबाट सुरु भएर अधिकतम १५ लाखमा गएर टुंगिने थियो । तर एनपीएलको आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले आसिफको न्यूनतम पारिश्रमिक १५ लाख र अधिकतम २० लाख तोकेको थियो, जसका कारण आसिफले मार्की खेलाडी बराबरकै रकम पाएका हुन् ।

आसिफलाई चितवन राइनोजबाहेक अन्य सात टोलीले सोमबारको अक्सनमा भाउ लगाएका थिए । त्यसमा एक जनकपुर बोल्ट्स पनि थियो । सातै टोलीले अधिकतम २० लाखको बोली लगाएपछि आसिफ ‘लक्की ड्र’ बाट लुम्बिनी लायन्समा पुगेका थिए । जनकपुरबाट रिलिज भएका किशोर महतो पनि लुम्बिनी पुगेका छन् । लुम्बिनीले उनलाई १० लाखको ‘बेस प्राइस’ बाट लिएको थियो । 

गत सिजनमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको लुम्बिनीले अक्सनमा सबैभन्दा बढी ४४ लाख खर्च गर्ने क्रममा दुर्गेश गुप्ता र आकाश त्रिपाठीलाई ५–५ लाखमा तथा अरनिको यादव र अजय चौहानलाई २–२ लाखमा लिएको थियो । रोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनीमा सन्दीप जोरा, शेर मल्ल, दिलीप नाथ, तिलक भण्डारी, दिनेश अधिकारी र अभिशेष गौतमलाई रिटेन गरेको थियो । 

NPL Auction Nepali Cricketer Who is in Which Team?

लुम्बिनीपछि अक्सनमा सबैभन्दा बढी पैसा खर्च गर्ने जनकपुर नै थियो र टोलीले ४१ लाख २५ हजार रुपैयाँ बराबर विभिन्न खेलाडीमाथि बोली लगाएको थियो । पोखराबाट आएका ‘ए’ श्रेणीका तृतराज दासलाई टोलीले १५ लाखमा लिएको थियो । अन्य टोलीले पनि भाउ लगाएको समयमा तृत ‘लक्की ड्र’ मार्फत जनकपुरमा पुगेका हुन् । जनकपुरले अमरसिंह रौटेला, अभिषेक तिवारी र विशाल पटेललाई ५–५ लाख, रीत गौतमलाई ४ लाख २५ हजार, सन्तोष कार्कीलाई ३ लाख तथा आशुतोष पाण्डे र विशाल सुस्लिङलाई २–२ लाखमा लिएको छ । 

NPL Auction Nepali Cricketer Who is in Which Team?

गत सिजन चोटका कारण एनपीएलबाट बाहिरिएका विवेक यादव चितवन राइनोज पुगेका छन् । लुम्बिनीमा रहेका विवेकले चोटका कारण प्रतियोगिता गुमाउन पुगेका थिए । ‘ए’ श्रेणीमा रहेका विवेकलाई चितवनले १५ लाख बोली लगाउँदै ‘लक्की ड्र’ मार्फत लिएको हो । अक्सनमा २६ लाख खर्च गरेको चितवनले मौसम ढकाललाई ३ तथा अशोक धामी, विपिन रावल, गौतम केसी र सलाउद्दिन खानलाई २–२ लाख रुपैयाँमा लिएको हो । 

१५–१५ लाख पाउने अन्य दुई खेलाडीमा तीव्र बलर रुपेशकुमार सिंह र विकेटकिपर ब्याटर अर्जुन घर्तीमगर थिए । रुपेशलाई विराटनगर किंग्सले र अर्जुनलाई पोखरा एभेन्जर्सले लिएको थियो ।

NPL Auction Nepali Cricketer Who is in Which Team?

रुपेशकुमार सिंह, विवेक यादव, तृतराज दास, अर्जुन घर्तीमगरमाथि समेत १५–१५ लाख बोली लाग्यो ।कर्णाली याक्सले शुभ कंसाकारलाई र सुदूरपश्चिम रोयल्सले दीपक बोहरालाई १०–१० लाख बोली लगाउँदै लिएको छ । 

‘रिटेन लिस्ट’ मा ६५ लाख राखेर सबैभन्दा कम बजेट ३४ लाखका साथ अक्सनमा गएको काठमान्डु गोर्खाजले १७ लाख खर्च गर्दै साहिल पटेललाई ५ लाख, प्रसिद्ध जैसी, दयानन्द मण्डल, सोनु देवकोटा, कृष्ण पौडेल, देव साह र सुर्यांन्शु कोइरालालाई जनही २–२ लाखमा लिएको छ । 

गत सिजनसम्ममा एउटा फ्रेन्चाइज टोलीले नेपाली खेलाडीतर्फ १ मार्की खेलाडी, १० अक्सनबाट र १ ट्यालेन्ट हन्टबाट गरी १२ खेलाडी लिइएको थियो । क्यानले यस पटक एउटा टोलीमा नेपाली खेलाडीको पुल संख्या १४ पुर्‍याएको थियो । त्यसमा अक्सनबाट १२ खेलाडी लिनुपर्ने थियो । अधिकांश टोलीले ५ देखि ७ खेलाडी रिटेन गरेका थिए । त्यसपछि आवश्यक संख्या बजेटका आधारमा अक्सनबाट खेलाडीहरू लिएका थिए । जनकपुरले सर्वाधिक ८ खेलाडी लिएको थियो । तेस्रो संस्करणको एनपीएल दसैंलगत्तै हुने कार्यतालिका रहेको छ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully