इटहरी सुपर किङ्सलाई केपीएल कपको उपाधि 

वर्षाका कारण १०–१० ओभरमा सीमित फाइनल खेलमा छिन्नमस्ता लायन्सलाई १९ रनले पराजित गर्दै इटहरी सुपर किङ्स च्याम्पियन बनेको हो ।

असार २३, २०८३

अर्जुन सुवेदी

Itahari Super Kings win KPL Cup title

What you should know

सुनसरी — केपीएल कप अन्तर्राष्ट्रिय आमन्त्रण टी–२० क्रिकेट प्रतियोगिताको उपाधि इटहरी सुपर किङ्सले जितेको छ । वर्षाका कारण १०–१० ओभरमा सीमित गरिएको फाइनल खेलमा छिन्नमस्ता लायन्सलाई १९ रनले पराजित गर्दै इटहरी सुपर किङ्स च्याम्पियन बनेको हो ।

सुनसरीको भोक्राहनरसिंहस्थित डा. खलिल अजाद खेल मैदानमा पहिले ब्याटिङ गरेको विश्वआदर्श कलेजको टिम इटहरी सुपर किङ्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै १०७ रन बनाएको थियो । टोलीका लागि सुजन थपलियाले ३५ बलमा ३ चौका र ८ छक्काको मद्दतले अविजित ७१ रनको विस्फोटक इनिङ्स खेले । अर्जुन घर्तीले १५ रनको योगदान दिए । जितका लागि १०८ रनको लक्ष्य पछ्याएको छिन्नमस्ता लायन्सले १० ओभरमा ५ विकेट गुमाउँदै ८८ रन मात्रै बनाउन सक्यो ।

इटहरीका बलरहरूले कसिलो प्रदर्शन गर्दै विपक्षीलाई लक्ष्यसम्म पुग्न दिएनन् र टोलीलाई १९ रनको ऐतिहासिक जित दिलाए । उपाधिसँगै इटहरी सुपर किङ्सले नगद २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता छिन्नमस्ता लायन्सले १ लाख २५ हजार रुपैयाँ पुरस्कार हात पार्यो भने तेस्रो स्थान हासिल गरेको भारतको आरएमएल स्पोर्टस् एकेडेमीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । फाइनल खेलको प्लेयरअफद म्याच इटहरीका सुजन थपलिया घोषित हुँदै नगद ५ हजार पुरस्कार हात पार्न सफल भए । बेस्ट बलर छिन्नमस्ता लायन्सका पप्पु यादव भोषित भए ।

प्रतियोगिता अवधिभर उनले १३ विकेट लिएका थिए । प्रतियोगिताभर ३०५ रन लिएका आरएमएल स्पोर्टस् एकेडेमीका अनुभव सिंह बेस्ट ब्याटर घोषित भए । उनीहरूले जनही १०–१० हजार पुरस्कार पाए । इटहरी सुपरकिंग्सका दिपक डुम्रे सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताभर १०० रन लिनुका साथै ११ विकेट हात पारेका उनले नगद २५ हजार पाए ।

बिजेता तथा उपबिजेता खेलाडीहरूलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लब घोष, भोक्राहनरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर, विश्वआदर्श एकेडेमीका प्राचार्य गणेश दुलाललगायतले पुरस्कार वितरण गरे । नेपाल क्रिकेट संघ क्यानको तालिका अनुकुल नहुँदा कोशी प्राइड लिग बेलैमा गर्न नपाएको केपीएल ग्रुपले क्रिकेट खेलको निरन्तरताका लागि नेपाल भारत दुई देशीय आमन्ति्रत टी-२० क्रिकेट प्रतियोगिताको आयोजना गरिएको केपिएल ग्रुपका अध्यक्ष अफजल हुसेनले जानकारी दिए । प्रतियोगितामा तीन भारतीयसहित ६ टिमले प्रतिष्पर्धा गरेका थिए ।

अर्जुन

Link copied successfully