हालान्डले यस विश्वकपका ३ खेलमा ५ गोल गरिसकेका छन् । तर ब्राजिलविरुद्धको खेलमा उनलाई ठूलो चुनौती तेर्स्याउने ग्याब्रियल नै हुन सक्ने छन् ।
What you should know
न्युयोर्क — ब्राजिल र नर्वे विश्वकपको अन्तिम १६ मा सोमबार बिहान ०१:४५ मा न्यु जर्सीमा प्रतिस्पर्धा गर्दा म्यानचेस्टर सिटीका फरवार्ड इर्लिङ हालान्ड र आर्सनलका ग्याब्रियल मागाल्हाइजको प्रतिद्वन्द्विताको नवीकरण हुनेछ ।
हालान्ड सिटी र ग्याब्रियल आर्सनलबाट खेल्छन् ।
सन् २०२४ को सेप्टेम्बर २२ मा प्रिमियर लिगको सिटी र आर्सनलबीचको खेलमा यस्तो क्षण भएको थियो, त्यसपछि हालान्ड र ग्याब्रियलको दुश्मनी बढेको थियो । लियोनार्डो टोसार्डले पहिलो हाफको अन्तिम समयमा रातो कार्ड पाएपछि १० खेलाडीमा खुम्चिए पनि आर्सनल इतिहाद रंगशालामा एतिहासिक विजयको नजिक पुगेको थियो ।
तर म्यानचेस्टर सिटीका रक्षक जोन स्टोन्सले ९८ औं मिनेटमा बराबरी गोल गरिदिए । निराश ग्याब्रियल जर्सी आधा तानेर आफ्नो मुख छोपिरहेको समयमा गोलको खुसीको त्यो जोसमा हालान्डले गोल पोस्टबाट निकालेर अगाडि लैजाने क्रममा ग्याब्रियलको टाउकोमा फालिएका थिए । त्यसपछि दुवै आवेगमा टाउको जुधाउन पुगेका थिए ।
त्यसयता यी दुईको हरेक खेलपछि प्रतिद्वन्द्विता बढ्दो छ । विश्वकपको अन्तिम १६ को प्रतिस्पर्धाले यी दुईको पुनः भेट गराइदिएको हो । हालान्डले यस विश्वकपका ३ खेलमा ५ गोल गरिसकेका छन् । तर ब्राजिलविरुद्धको खेलमा उनलाई ठूलो चुनौती तेर्स्याउने ग्याब्रियल नै हुन सक्ने छन् । ब्राजिलका अर्का सेन्ट्रल डिफेन्डर मार्कुन्होजले पनि पेरिस सेन्ट जेर्मेनबाट खेल्दा हालान्डको सामना गरिसकेका छन् ।
‘हालान्डले के गरिरहेका छन् हामी सबैलाई थाहा छ,’ नर्वेसँगको खेलअघि हालान्डलाई लिएर ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले भने, ‘मैले यसबारेमा उनीविरुद्ध कसरी खेल्नु पर्छ भनेर मेरा रक्षकहरुलाई केही भनिरहन जरुरी छैन, उनीहरुले एक आपसमा यसअघि नै धेरै पटक खेलिसकेका छन् ।’
नर्वेका प्रशिक्षक स्टल सोल्बाकेनले भने विगतको कुनै एक क्षणभन्दा पनि परिस्थिति हेरेर वर्तमानमा खेल्न आफ्ना खेलाडीलाई निर्देशन दिएका छन् ।
यस खेलको विजेताले मायामीमा मेक्सिको र इंग्ल्यान्ड बीचको खेल विजेतासँग क्वाटरफाइनल खेल्ने छ ।
