बालोगन जारी विश्वकपमा अमेरिकाका सबैभन्दा प्रभावशाली स्ट्राइकर हुन् । जारी विश्वकपमा उनले अमेरिकाका लागि गोल गरिसकेका छन् ।
काठमाडौँ — अमेरिकाले आफ्नो घरेलु मैदानमा जारी विश्वकपमा अन्तिमसम्मको यात्रा गरिसक्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प कुनै खेल हेर्न उपस्थित भएका छैनन् । तर, यसको अर्थ उनले फुटबललाई बेवास्ता गरेको भने पक्कै होइन ।
आइतबार ट्रम्पले 'ट्रुथ सोसल' मा फिफालाई धन्यवाद दिए । फिफाले सोमबार बेल्जियम विरुद्ध हुने अन्तिम १६ को खेलमा स्ट्राइकर फोलारिन बालोगनमाथिको प्रतिबन्ध हटाउने एउटा निकै दुर्लभ निर्णय गरेको थियो ।
ट्रम्पले लेखे, 'एउटा ठूलो अन्यायलाई उल्ट्याइदिएकोमा फिफालाई धन्यवाद !'
बालोगनलाई के भएको थियो?
बुधबार अन्तिम ३२ को खेलमा बोस्निया एण्ड हर्जगोभिना विरुद्ध २-० को जित निकाल्ने क्रममा अमेरिकाका लागि पहिलो गोल गरेपछि, डिफेन्डर तारिक मुहरेमोभिचमाथिको ट्याकलका कारण स्ट्राइकर बालोगनलाई मैदानबाहिर पठाइएको थियो ।
बालोगन जारी विश्वकपमा अमेरिकाका सबैभन्दा प्रभावशाली स्ट्राइकर हुन् । जारी विश्वकपमा उनले अमेरिकाबाट तीन गोल गरिसकेका छन् ।
भिडियो रिभ्युपछि रेफ्री राफेल क्लाउसले बालोगनलाई सिधै रातो कार्ड दिएका थिए । स्लो-मोसन रिप्लेमा बालोगनको खुट्टा मुहरेमोभिचको गोलीगाँठो भन्दा माथिल्लो भागमा परेको देखिएको थियो । बालोगनलाई गम्भीर फउलका लागि सिधै रातो कार्ड दिइएको थियो र फिफाले दुई दिन पछि उनले एक खेलको प्रतिबन्ध भोग्नुपर्ने पुष्टि गरेको थियो ।
फिफाको अनुशासन संहिताले सिधै दिइएको रातो कार्ड विरुद्ध पुनरावेदन गर्ने अनुमति दिँदैन । खेलपछि विश्व फुटबलको सर्वोच्च निकाय र अमेरिकी फुटबल संघका पदाधिकारीहरूले पनि उक्त कारबाही विरुद्ध चुनौती दिन नसकिने पुष्टि गरेका थिए ।
तर, आइतबार एक आश्चर्यजनक घोषणा गर्दै फिफाले आफ्नो अनुशासन संहिताको धारा २७ अन्तर्गत उक्त निष्कासनलाई खारेज गरिने जनायो । फिफाका अनुसार एक वर्षको अवधिमा बालोगनले 'उस्तै प्रकृतिका र गम्भीरताको अर्को नियम उल्लंघन' गरेमा उनले यो एक खेलको प्रतिबन्ध भोग्नुपर्नेछ ।
धारा २७ मा उल्लेख भए अनुसार फिफाको न्यायिक समितिसँग अनुशासनात्मक कारबाहीको कार्यान्वयनलाई पूर्ण वा आंशिक रूपमा निलम्बन गर्ने अधिकार छ । यस प्रावधानले उनीहरूलाई रेफ्रीको निर्णय उल्टाउन सक्ने विशेष अधिकार दिन्छ ।
के यो पहिले पनि भएको छ?
धारा २७ ले विश्वकपमा यसअघि नै प्रभाव पारिसकेको छ, जहाँ फिफाले यही प्रावधान प्रयोग गरेर क्रिस्टियानो रोनाल्डोलाई प्रतियोगिताका पहिलो दुई खेल खेल्न अनुमति दिएको थियो ।
पोर्चुगलका यी फरवार्डलाई गत नोभेम्बरमा भएको छनोट खेलमा रिपब्लिक अफ आयरल्याण्डविरुद्ध रातो कार्ड पाएपछि सुरुमा तीन खेलको प्रतिबन्ध लगाइएको थियो ।
४१ वर्षीय रोनाल्डोको प्रतिबन्धलाई घटाएर एक खेलमा सीमित गरियो, जुन आर्मेनिया विरुद्धको अर्को छनोट खेलमा लागू भयो । यसले गर्दा उनी प्रजातान्त्रिक गणतन्त्र कङ्गो र उज्वेकिस्तान विरुद्धको विश्वकपका सुरुवाती समूह चरणका खेलहरू खेल्न योग्य भए ।
रोनाल्डोको प्रतिबन्ध फुकुवा हुनुभन्दा एक हप्ता अघि उनी ह्वाइट हाउसमा ट्रम्पको अतिथिका रूपमा उपस्थित भएका थिए ।
त्यस्तै सन् १९६२ मा ब्राजिलका सुपरस्टार गारिन्चा सेमिफाइनलमा रातो कार्ड पाएर बाहिरिएका थिए । उनले पनि यसका बाबजुद चेकोस्लोभाकियाविरुद्धको फाइनल खेल खेलेका थिए । उक्त खेलमा ब्राजिल ३-१ ले विजयी भयो ।
ट्रम्पको भूमिका के थियो ?
स्रोतहरूले बेलायती सञ्चारमाध्यम द गार्जियनलाई दिएको जानकारीअनसार अनुसार, यो परिवर्तनका लागि ट्रम्पले बुधबारदेखि फिफालाई तीन पटक फोन गरेका थिए। यस विषयमा फिफा र ह्वाइट हाउस दुबैले कुनै प्रतिक्रिया दिइसकेका छैनन् ।
बेल्जियमले यसलाई कसरी लिएको छ ?
बेल्जियमले सार्वजनिक रुपमा यस कदमको निन्दा गरेको छ । टिमका प्रशिक्षक रुडी गार्सियाले यसअघि अमेरिकाका मुख्य स्ट्राइकर प्रतिबन्धित रहेको अवस्थालाई मध्यनजर गरेर रणनीति तयार पारेका थिए । तर अब अन्तिम अवस्थामा आएर रणनीति परिवर्तन गर्नुपर्ने हुनसक्छ ।
रोयल बेल्जियम फुटबल एसोसिएसनले फिफामाथि आफ्नै नियमहरू तोडेको आरोप लगाएको छ । त्यस्तै, कानुनी कारबाहीको सम्भावनालाई खुला राखेको छ। 'हामी यो निर्णयबाट स्तब्ध छौं,' विज्ञप्तिमा भनिएको छ। 'यो निर्णय विश्वकप २०२६ को प्रतियोगिता नियमावलीको प्रावधानहरूको पूर्ण रूपमा विपरीत छ।'
विज्ञप्तिमा भनिएको छ, 'सहभागी सबै टोलीहरूको वैध अधिकारको रक्षा गर्न र यस विश्वकप तथा भविष्यका प्रतियोगिताहरूमा समेत निष्पक्ष खेलको आधारभूत सिद्धान्तहरू जोगाउन, बेल्जियन फुटबल संघले सबै सम्भावित विकल्पहरूको अनुसन्धान गरिरहेको छ ।'
