आयोजना दाबीमा संघर्ष गरेको मोरक्को फुटबलले लिएको रूपान्तरण

मोरक्को आगामी विश्वकप आयोजना गर्ने तयारीमा जुटिरहेको देश पनि हो । कतार विश्वकपपछि फिफा कार्यकारी समितिको अक्टोबर ४, २०२३ को बैठकले विश्वकप २०३० को संयुक्त आयोजना अधिकार मोरक्कोसहित स्पेन र पोर्चुगललाई दिएको थियो ।

असार २०, २०८३

ध्रुव तुलाधर

The transformation of Moroccan football, which struggled to claim the hosting rights

काठमाडौँ — मोरक्कोले कतार विश्वकप २०२२ मा चामत्कारिक प्रदर्शन गर्दै विश्व फुटबलमा आफ्नो उपस्थिति गर्विलो पारेको थियो । आफूलाई चौथो स्थानमा राख्दै कतारबाट फर्केको मोरक्कन फुटबलले जारी विश्वकपमा पनि आफ्नो प्रभुत्व जमाइरहेको छ ।

मोरक्कोले क्वाटरफाइनल पुग्नका लागि अहिले सहआयोजक राष्ट्र क्यानडासँग ह्युस्टन स्टेडियममा खेल्दै छ ।

नेदरल्यान्ड्सलाई टाइब्रेकरमा ३–२ ले हराएर मोरक्कोले अन्तिम १६ मा स्थान बनाएको हो । क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले हराएर मोरक्कोसँगको भेट पक्का गरेको थियो ।

मोरक्को अब हुने २०३० को फिफा विश्वकप आयोजना गर्ने तयारीमा जुटिरहेको देश पनि हो । कतार विश्वकपपछि फिफा कार्यकारी समितिको अक्टोबर ४, २०२३ मा बसेको बैठकले विश्वकप २०३० को संयुक्त आयोजना अधिकार मोरक्कोसहित स्पेन र पोर्चुगललाई दिएको थियो । मोरक्को अफ्रिकी मुलुक हो भने स्पेन र पोर्चुगल युरोपेली । दुई महादेशको भूमिमा पहिलो पटक आगामी संस्करणको विश्वकप खेलाइँदै छ ।

विश्वकप आयोजना अधिकारका संयोजक मुआद हज्जीले २०३० को विश्वकप आयोजनालाई उत्कृष्ट साझा अफ्रिकी–युरोपियन मोडेल प्रदर्शन गर्ने अवसर भएको बताएका छन् । उनले भनेका छन्, ‘२०३० को यात्रा चुनौतीपूर्ण हुन सक्छ, तर सम्भावना विशाल छ ।’

उनले यो भनाइ राजधानी सहर रावतमा गत वर्ष विश्वका खेल पत्रकारको संगठन एआईपीएसको ८७ औं कंग्रेसलाई सम्बोधन गर्ने क्रममा राखेका थिए । हज्जीले मोरक्कोले फुटबल पूर्वाधारमा अभूतपूर्व रूपमा रूपान्तरण गरिरहेको पनि सुनाएका थिए ।

उनले स्पेन र पोर्चुगलसँगको संयुक्त विश्वकप आयोजनालाई दीगो लगानी, प्रतिभा विकास र अन्तर्राष्ट्रिय संलग्नतामा आधारित दीर्घकालीन रणनीतिक दृष्टिकोणमा परिभाषित गरेका थिए ।

हज्जीले भनेका थिए, ‘यो केवल साझा आयोजना प्रस्ताव मात्र होइन, यो भविष्यलाई आकार दिँदै आयोजना हुने असाधारण विश्वकपको एकीकृत दृष्टिकोण हुनेछ ।’ उनले २०३० को विश्वकपलाई देशको विश्वव्यापी खेलकुद र कूटनीतिक प्रभाव बढाउने अवसरका रूपमा प्रयोग गर्ने प्रतिवद्धता पनि जनाएका थिए ।

The transformation of Moroccan football, which struggled to claim the hosting rights

विश्वकप आयोजनाका लागि मोरक्कोले लामै युद्ध लडेको छ । सन् १९९४ को विश्वकपमा दाबी परेको थियो । अमेरिकाले १० मतसहित बाजी मार्दा मोरक्को ७ र ब्राजिल २ मतसहित पछाडि परेको थियो । १९९८ को ‘विश्वकपमा प्रस्ताव अघि सारेको मोरक्कोले फ्रान्सलाई १२–७ मतान्तरले आयोजना अधिकार सुम्पिनुपरेको थियो ।

सन् २००६ का लागि मोरक्कोको तेस्रो प्रयास रह्यो । त्यो पनि सफल हुन सकेन र आयोजना अधिकार जर्मनीले पायो । तर मोरक्को विश्वकप आयोजनाको दाबीबाट पछाडि हटेन । २०१० का लागि पनि प्रस्ताव अघि सार्यो । जबकि दक्षिण अफ्रिकाले आयोजना गर्ने मौका पायो । जुन अफ्रिकी मुलुकमा भएको पहिलो विश्वकप थियो । अफ्रिकाकै मोरक्को र इजिप्ट भने आयोजना दाबीमा पछाडि परेका थिए ।

यो त भयो आयोजना अधिकारका लागि मोरक्कोको संघर्ष । मैदानमा पनि मोरक्कोले त्यस्तै प्रभाव देखाइरहेको छ । हज्जीले भनेजस्तै मोरक्कोको फुटबल रूपान्तरण भइरहेको छ ।

अमेरिकासहित तीन देशमा भइरहेको विश्वकप २०२६ मा पनि आफ्नो लय कायमै राखेको छ । तीन पटकको उपविजेता रहिसकेको नेदरल्यान्ड्सलाई टाइब्रेकरमा ३–२ लेपराजित गर्दै मोरक्कोले अन्तिम १६ मा स्थान बनाएको हो । निर्धारित र अतिरिक्त समयमा १–१ गोलको बराबरीपछि त्यो खेल टाइब्रेकरमा पुगेको थियो ।

मोरक्को र आयोजक क्यानडाको खेलबाट अन्तिम १६ को प्रतिस्पर्धा सुरु हुनेछ । चार वर्षअघि कतार विश्वकपमा मोरक्को र क्यानडा एउटै समूहमा रहेका थिए । मोरक्कोले २–१ को जित पाएको थियो ।

विश्वकपमा सातौं सहभागितामा मोरक्कोले २०२२ को कतार विश्वकपमा चौथो स्थान हासिल गर्नु नै ठूलो सफलता थियो । जहाँ विश्वका शक्तिशाली फुटबल हस्तीहरूलाई पाखा लगाएको थियो । क्रोएसियासँग तेस्रो स्थानका लागि भएको खेलमा २–१ ले पराजित भएपछि मोरक्कोले चौथो भएर एसियाको विश्वकप यात्रा टुंग्याएको थियो ।

त्यतिबेला समूह चरणमा त्यही क्रोएसियासँग मोरक्कोले गोलरहित बराबरी खेलेको थियो । सेमिफाइनलमा फ्रान्सलाई २–० ले, क्वाटरफाइनलमा पोर्चुगललाई १–० ले र अन्तिम १६ मा स्पेनलाई टाइब्रेकरमा ३–० ले हराएर सनसनी मच्चाएको मोरक्कोले समूह चरणमै बेल्जियममाथि २–० ले को जित रचेको थियो ।

The transformation of Moroccan football, which struggled to claim the hosting rights

यसपालि समूह चरणमा ब्राजिलसँग १–१ को बराबरी खेल्दै मोरक्कोले स्टकल्यान्डलाई १–० र हाइटीलाई ४–२ ले हराएर अपराजित रहँदै नकआउट चरणको यात्रा गरेको हो ।

कप्तान अचरफ हकिमी, हकिमी जियाच, युसुफ एन नासेरी, रान्डल कोलो मुनी, जाकारियालगायतका खेलाडी कतारमा चम्किएका थिए । यसपालि पीएसभी आइन्डहोभनबाट खेल्ने इस्माइल साइबरीले प्रभाव जमाइरहेका छन् । उनले समूह चरणमा तीनै टिमविरुद्ध १–१ गोल गरेका थिए । नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराउँदा पनि साइबरीले निर्णायक पेनाल्टीमा गोल गरेका थिए । जबकि कप्तान अचरफ हकिमीले पनि पेनाल्टी गुमाएका थिए ।

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully