दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्करणदेखि निरन्तर सहभागी नेपालको पदक संख्या १५ स्वर्ण, १९ रजत र २० कांस्य पुगेको छ ।
काठमाडौँ — नेपाली खेलाडी बिनु जीटीले १६ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्टस्च्या म्पियनसिपमा दोहोरो पदक जितेकी छन् ।
भुटानको थिम्पुमा भएको प्रतियोगिताको अन्तिम दिन शनिबार बिनुले महिला स्विमसुटमा स्वर्ण र मोडल फिजिकमा रजत पदक जितेकी हुन् ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका सचिव दिनेशकुमार राजभण्डारीका अनुसार अन्तिम दिन नेपालले १–१ स्वर्ण र रजत जितेको छ । पुरुष ८० केजीमा सगेन्द्र सिंहले स्वर्ण जिते । महिला टिम च्याम्पियनसिपमा नेपालले रजत जित्यो । पुरुष ७५ केजीमा दीपजंग रोकामगर पाँचौं भए ।
नेपालले ३ स्वर्ण, ३ रजत र १ कांस्य पदक जित्यो । यसअघि पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरमुनि आकाश श्रेष्ठले स्वर्ण, महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत र पुरुष स्पोर्टस्फि जिक १७० सेन्टिमिटरमाथि पुकार शाक्यले कांस्य जितेका थिए ।
दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्करणदेखि निरन्तर सहभागी नेपालको पदक संख्या १५ स्वर्ण, १९ रजत र २० कांस्य पुगेको छ । नेपाली टोली आइतबार स्वदेश फर्कंदै छ ।
