सम्झौताअनुसार रेड बुलले तीन वर्षसम्म सुदूरपश्चिम रोयल्सलाई मुख्य प्रायोजकका रूपमा साथ दिने जनाइएको छ ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा रेडबुल हुने भएको छ ।
सम्झौताअनुसार रेड बुलले तीन वर्षसम्म सुदूरपश्चिम रोयल्सलाई मुख्य प्रायोजकका रूपमा साथ दिने जनाइएको छ ।
सुदूरपश्चिम रोयल्स एनपीएलका सबैभन्दा लोकप्रिय र समर्थक आधार भएको फ्रेन्चाइजमध्ये टोली हो । युवामाझ लोकप्रिय ब्रान्ड रेड बुलसँगको सहकार्यले टोलीको व्यावसायिक विस्तारका साथै ब्रान्डको पहुँच र पहिचानलाई अझ बलियो बनाउने विश्वास दुवै पक्षको छ ।
‘रेडबुलजस्तो विश्वप्रसिद्ध ब्रान्डलाई मुख्य प्रायोजकका रूपमा स्वागत गर्न पाउँदा हामी उत्साही छौं, यो साझेदारीले सुदूरपश्चिम रोयल्सको व्यावसायिक यात्रालाई थप बलियो बनाउनुका साथै नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास लिएका छौं,’ सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले विज्ञप्तिमा भनेका छन् ।
सारस बेभरेज (रेडबुल) का प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले सुदूरपश्चिम रोयल्सजस्तो ठूलो समर्थक आधार, निरन्तर उत्कृष्ट प्रदर्शन र युवामाझ विशेष लोकप्रियता हासिल गरेको टोलीसँग सहकार्य व्यावसायिक रूपमा रेड बुललाई सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास जनाएका छन् । उनले रेड बुल र सुदूरपश्चिम रोयल्स दुवैले ऊर्जा, जोस र उत्कृष्टताको भावना बोकेकाले साझेदारीले टोलीमा थप ऊर्जा भर्ने जनाइएको छ ।
दुवै पक्षले यस साझेदारीले नेपाली क्रिकेटको व्यावसायिक विकास, खेलकुद मार्केटिङको विस्तार तथा एनपीएलको ब्रान्ड मूल्य अभिवृद्धिमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरेका छन् ।
