सदस्यसचिव मेहताले नेपाली खेलकुदमा विवादहरू रहेको औंल्याउँदै हाललाई त्यसलाई बोरामा सिलाएर राखेको उल्लेख गरेका थिए ।
What you should know
काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले एसियाली खेलकुदमा नेपाली खेलाडीले विना दबाब खेल्ने बताएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले विश्व खेलकुद पत्रकार दिवस (जुलाई २) को अवसरमा बिहीबार आयोजित ‘नेपाल इन एसियन : गेम रोड टु आइची’नागोया’ संवाद कार्यक्रममा उनीहरू दुवैले नेपाली खेलाडीले विना दबाब खेल्ने वातारणका लागि पहल भइरहेको बताए ।
सदस्यसचिव मेहताले नेपाली खेलकुदमा विवादहरू रहेको औंल्याउँदै हाललाई त्यसलाई बोरामा सिलाएर राखेको उल्लेख गरेका थिए । उनले भने, ‘विवाद छन्, तर एसियाली खेलकुद सहभागितामा कुनै विवाद हुन्न । अहिलेलाई ती विवाद बोरामा सिलाएर राखेको छु ।’ खेलाडीहरूलाई छिटै वैदेशिक प्रशिक्षणमा पठाउने र पदकमा केन्द्रित रहने उनको तर्क थियो ।
विगतमा राखेप र एनओसीबीच विवादले ठूला प्रतियोगिता प्रभावित हुने गरेको स्मरण गर्दै उनले त्यसले खेलाडीहरूले कमजोर मानसिकतामा एसियाड खेल्ने गरेको उनले बताए । दुई मुख्य निकाय प्रमुखले गरेको उद्घोषले एसियाड सहभागिता उत्साहित हुने अनुमान गरिएको छ ।
संवाद कार्यक्रममा मेहता र अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको दीर्घकालीन समाधानमा लागि राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को संशोधन आवश्यक रहेको पनि बताएका छन् । मेहताले चाँडै नै ऐन संशोधनको प्रक्रिया अगाडि बढ्ने पनि बताए । उनले भने, ‘ऐनमै समस्या छ । त्यसको समाधानका लागि ऐन संशोधन वा नयाँ ऐन बनाउनुपर्छ, त्यसको तयारी भइरहेको छ ।’
त्यस्तै एनओसी अध्यक्ष श्रेष्ठले खेलकुद ऐन मात्र नभई नियमावली पनि संशोधन आवश्यक रहेको औंल्याए । उनले व्यक्तिको स्वार्थअनुसार नियमावली परिवर्तन विषयलार्य निरुत्साहिन गर्नुपर्ने बताए ।
सदस्य–सचिव मेहताले एसियाली खेलकुदमा नेपालले यो वर्ष २३ खेलमा १४० जनाले सहभागिता जनाउन लागेको पनि जानकारी दिए । सरकारले एसियाली खेलकुद तयारीका लागि २ करोड ८० लाख रुपियाँ बजेट विनियोजन गरेको र सहभागिताका लागि थप ११ करोड २० लाख छुट्याएको पनि जानकारी गराए ।
एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने सरकारको लक्ष्य पूरा गर्न आफूहरू लागिपरेको र अब आगामी महिनादेखि खेलाडीलाई वैदेसिक प्रशिक्षणमा पठाउने तयारी भइरहेको बताए ।
नेपाली खेलकुदको इतिहासमा पहिलो पटक नागोया एसियाडका लागि झन्डै चार वर्षअघि नै नागोया ओलम्पिक केन्द्रित रहेर राखेपले मिसन २०२६ योजना सुरु गरेको थियो । त्यसमा ११ खेलका ९९ खेलाडीले प्रशिक्षण पाइरहेका छन् ।
एनओसीका अध्यक्ष श्रेष्ठले राखेपसँगको समन्वयमा खेलाडीको अन्तिम सूची पठाएअनुरुप नै एसियाडमा खेलाडी दर्ताको काम भइरहेको बताए ।
एसियाडमा पदक जित्ने र ओलम्पिक सहभागिताको लक्ष्यसहित ५ खेलका खेलाडीलाई महिनाको ५० हजार रुपैयाँसहित आईओसी छात्रवृत्ति प्रदान गरेको बताए ।
त्यस्तै विगतमा जस्तो अनावश्यक ब्यक्तिको भीड एसियाडमा नपठाउने, असम्वन्धित ब्यक्तिहरु एसियाडमा नदेखिने र सबैको ध्यान खेलाडीको पदकमा केन्द्रित हुने उनीहरुको भनाइ थियो ।
हाङचाउ एसियाडमा रजत विजेता कराते खेलाडी एरिका गुरुङले एसियाडजस्तो ठूलो प्रतियोगिता खेल्न जाँदा बाहिरी वातावरणले सधैं निरुत्साहित बनाउने गरेको स्मरण गराउँदै त्यसबाट खेलाडी मुक्त हुनुपर्ने भनाइ राखिन्
एरिकाले आफ्नो अनुभव सुनाउने क्रममा भनिन्, ‘धेरैले जित्ने भनेको यस्तै हो, एसियन गेममा घुमेर आऊ भनेर प्रतियोगिता पहिले नै खेलाडीको मनोबल कमजोर पारिसकेको हुन्छ । तर अहिलेको परिस्थिति फरक छ । एसियाडमा पदक जितेर आएपछि नै मिसन २०२६ सुरु भएपछि खेलाडीले वर्षभर नै प्रशिक्षण पाइरहेका छन् । त्यसैले म मात्र होइन, अन्य खेलाडीले जापान एसियाडमा अझ राम्रो गर्ने अपेक्षा गरेका छन् ।’
नेपाल खेलकुद पत्रकार मञ्चका अधयक्ष निरञ्जन अधिकारीले एक सय वर्षअघि एआइपिएसको गठन हुँदाको दिन जुलाई २ लाई नै विश्व खेलकुद पत्रकार दिवसको रुपमा मनाउादै आएको जानकारी दिए ।
संवाद कार्यक्रमका सहजकर्ता तथा एआईपीएसका कोषाध्यक्ष निरञ्जन राजवंशीले एसियाडजस्ता प्रमुख प्रतियोगिताअघि आउने विवादलाई घरेलु खेलकुदका ठूला निकायले मिलेर दीघर्कालीन रूपमै सल्टाउनुपर्ने आवश्यकता औंल्याए ।
