जितको उत्सव मनाउने क्रममा मेक्सिको सिटीमा ४ जनाको मृत्यु

मेक्सिको सिटीकी मेयर क्लारा ब्रुगाडाले सामाजिक सञ्जालमार्फत उद्धार टोलीले तीन जना अचेत व्यक्तिको सूचना पाएलगत्तै घटनास्थल पुगे पनि उनीहरूको त्यतिबेलासम्म मृत्यु भइसकेको बताइन् ।

असार १८, २०८३

कान्तिपुर संवाददाता

4 killed in Mexico City during victory celebrations

What you should know

मेक्सिको सिटी — विश्वकप २०२६ मा सहआयोजक मेक्सिकोले इक्वेडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको खुसीयाली मनाउने क्रममा मेक्सिको सिटीमा चार जनाको मृत्यु भएको छ । 

मेक्सिको सिटीको स्वास्थ्य सचिवालयले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार मंगलबार राति हजारौं समर्थकहरू भेला भएको प्रसिद्ध एन्जेल अफ इन्डिपेन्डेन्स (स्वतन्त्रता स्मारक) नजिकका सडकमा दुई महिला र एक पुरुष अचेत अवस्थामा फेला परेका थिए । उनीहरू क्रमशः ४८, ४४ र १९ वर्षका थिए । अधिकारीहरूका अनुसार उनीहरूको मृत्यु श्वासप्रश्वास अवरुद्ध (अस्फिक्सिया) का कारण भएको हो । घटनाको थप विवरण भने सार्वजनिक गरिएको छैन ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा मेक्सिको सिटीकी स्वास्थ्य सचिव नदिन ग्याशमेनले करिब ३० वर्षका अर्का एक पुरुषलाई मुर्छा पर्ने, शरीर झट्का लाग्ने र पाचन प्रणालीबाट रक्तस्राव भएपछि आपतकालीन टोलीले उपचार गरेको बताइन् । उनलाई अस्पताल पुर्‍याइए पनि केही समयपछि हृदय तथा श्वासप्रश्वास बन्द (कार्डियोरेस्पिरेटरी अरेस्ट) का कारण मृत्यु भएको उनले जानकारी दिइन् ।

मेक्सिको सिटीकी मेयर क्लारा ब्रुगाडाले सामाजिक सञ्जालमार्फत उद्धार टोलीले तीन जना अचेत व्यक्तिको सूचना पाएलगत्तै घटनास्थल पुगे पनि उनीहरूको त्यतिबेलासम्म मृत्यु भइसकेको बताइन् । उनले नागरिकलाई "जिम्मेवारीका साथ, सावधानीपूर्वक र एकअर्काप्रति सहानुभूतिसहित" उत्सव मनाउन पनि आग्रह गरेकी छन् ।

मंगलबार राति एन्जेल अफ इन्डिपेन्डेन्स स्मारक वरिपरि पटाका पट्काइएको थियो । मेयर ब्रुगाडाले मंगलबार सार्वजनिक गरेको एक भिडियोमा करिब १४ लाख मानिस सडकमा उत्सव मनाइरहेको बताउँदै अत्यधिक भीड कम गर्न थप मानिसलाई सहरको केन्द्रतर्फ नआउन आग्रह गरेकी थिइन् । उनले यसको सट्टा सहरको पूर्वी क्षेत्रमा आयोजना गरिएको एक लोकप्रिय कुम्बिया ब्यान्डको सांगीतिक कार्यक्रममा सहभागी हुन आग्रह गरेकी थिइन् ।

मंगलबार राति मेक्सिको सिटीका अधिकांश क्षेत्र अत्यधिक भीडका कारण अस्तव्यस्त बनेका थिए । सडकका कुनाकाप्चामा स्वतःस्फूर्त सांगीतिक समूहहरू देखिन्थे भने "टोरिटोस" भनेर चिनिने रकेटसहितका ठेलागाडाहरू मानिसहरूको घुइँचोका बीच बिस्तारै अघि बढिरहेका थिए ।

युवा समर्थकहरूबीच मदिराका बोतलहरू हानाहान भइरहेका थिए भने सयौँ मानिस सहरको केन्द्रतर्फ अघि बढ्ने प्रयास गरिरहेका थिए । केही सफल भए पनि भीडको चापका कारण धेरैलाई बीचैबाट फर्किनुपरेको थियो ।

कान्तिपुर

Link copied successfully