केपीएल क्रिकेटमा केसीसीको विशाल जित

छिन्नमस्ताले पनि पायो सफलता ।

असार १६, २०८३

अर्जुन सुवेदी

KCC's huge win in KPL cricket

What you should know

सुनसरी — केपीएल कप अन्तर्राष्ट्रिय आमन्त्रण क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न खेलमा केसीसी इन्डियाले एचपीसीए पटना इन्डियामाथि १ सय ८५ रनको विशाल जित निकालेको छ । दोस्रो खेलमा छिन्नमस्ता लायन्स सप्तरीले मिल्स क्रिकेट क्लब एण्ड एकेडेमी विराटनगरलाई ४ विकेटले पराजित गरेको छ ।

सुनसरीको भोक्राहनरसिंहस्थित खलिल आजाद मैदानमा मंगलबार सम्पन्न पहिलो खेलमा केसीसी इन्डियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६१ रनको विशाल योगफल तयार गरेको थियो । टोलीका लागि भास्कर दुबेले ४० बलमा १ सय ३ रनको विस्फोटक शतकीय इनिङ्स खेले । उनले ६ चौका र १२ छक्का प्रहार गरे । त्यस्तै अल्तामिस वाईले ४८ बलमा ९१ रन बनाउँदै उत्कृष्ट साथ दिए । 

२ सय ६२ रनको कठिन लक्ष्य पछ्याएको एचपीसीए पटना १२.४ ओभरमा ७६ रनमै समेटियो । केसीसी इन्डियाले १ सय ८५ रनको फराकिलो जित निकाल्दै प्रतियोगितामा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ । त्यसैगरी दोस्रो खेलमा मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीले पहिले ब्याटिङ गर्दै २० ओभरमा सबै विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको छिन्नमस्ता लायन्सले १६.४ ओभरमा ६ विकेट गुमाएर १ सय १३ रन बनाउँदै ४ विकेटको जित हात पार्‍यो ।

छिन्नमस्ताका लागि सन्तोष कार्कीले १५ बलमा २२ रन बनाउँदा अभिषेक कार्की १० बल खेल्दै २० रनमा अविजित रहे । दिपेश कँडेलले २१ बलमा १८ रन जोड्दै टोलीलाई जिततर्फ डोर्‍याए । जारी प्रतियोगितामा नेपाल र भारतका ६ टोलीबीच प्रतिस्पर्धा भइरहेको छ ।

अर्जुन

Link copied successfully