डाइनामिक प्राइसिङ प्रणालीका कारण फाइनल टिकटको मूल्य ४९ लाख रुपैयाँसम्म पुगेको छ । यसले आम समर्थकका लागि पहुँच झन् कठिन बनाएको छ ।
What you should know
काठमाडौँ — तीनवटा देशले संयुक्त रूपमा आयोजना गरेको जारी विश्वकप फुटबल फाइनलको टिकट मूल्य अहिले करिब ३ लाख ५ हजार नेपाली रुपैयाँदेखि ४९ लाख ४६ हजार रुपैयाँसम्म पुगेको छ । सेमिफाइनल र क्वार्टरफाइनलका टिकट अहिले नै हजारौँ डलरमा बिक्री भइरहेका हुन् ।
सन् २०२६ को फिफा विश्वकप फाइनलको सबैभन्दा महँगो आधिकारिक टिकटको मूल्य सोमबारसम्म ३२ हजार ९ सय ७० अमेरिकी डलरसम्म पुगेको छ । अहिलेको विनिमय दरअनुसार यसको नेपाली मूल्य करिब ४९ लाख ४६ हजार रुपैयाँ हुन आउँछ । यो फिफाले अहिलेसम्म बिक्रीमा राखेको विश्वकप इतिहासकै सबैभन्दा महँगो टिकट हो ।
समूह चरणका ७२ खेल र नकआउट चरणका १ खेल सकिँदा कीर्तिमानी ३७ लाख दर्शकले प्रत्यक्ष उपस्थित भएर खेल हेरेको अनुमान गरिएको छ । यस विश्वकपमा डाइनामिक टिकट नीतिका कारण अन्तिम समयसम्म टिकट मूल्य अझै लाखौँले बढ्ने अनुमान गरिएको रोयटर्सले उल्लेख गरेको छ ।
माथि उल्लेखित मूल्य जुलाई १९ मा न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनल खेलको फ्रन्ट क्याटेगोरी-१ सिटका लागि हो । फिफाको टिकटिङ प्लाटफर्म तथा ईएसपीएन र एसोसिएटेड प्रेसका अनुसार यही टिकट सुरुमा १० हजार ९ सय ९० अमेरिकी डलरमा बिक्रीमा राखिएको थियो । पछि फिफाले लागू गरेको नयाँ प्रणालीअनुसार माग बढ्दै जाँदा यसको मूल्य अहिले नै ३ गुणाभन्दा बढी पुगेको हो ।
रोयटर्सले बेलायती संस्था नाइट्सब्रिज सर्कललाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारमा विश्वकप फाइनल खेलमा अघिल्लो ६ सिटका टिकटहरू आरामदायी प्याकेजअन्तर्गत ४० लाख अमेरिकी डलर अर्थात् ६० करोड नेपाली रूपैयाँमा बिक्री गरेको जनाइएको छ । पिचसम्म पुग्ने सुविधासहितका अन्य दुई टिकट प्रतिथान १५ लाख अमेरिकी डलरमा बिक्रीमा राखिएको छ ।
फाइनलकै सबैभन्दा सस्तो साधारण टिकटको मूल्य २ हजार ३० अमेरिकी डलर (करिब ३ लाख ५ हजार रुपैयाँ) छ । त्यसैगरी अन्य आधिकारिक टिकटको मूल्य २ हजार ७ सय ९० अमेरिकी डलर (करिब ४ लाख १९ हजार रुपैयाँ), ४ हजार २ सय १० अमेरिकी डलर (करिब ६ लाख ३२ हजार रुपैयाँ) र ६ हजार ७ सय ३० अमेरिकी डलर (करिब १० लाख १० हजार रुपैयाँ) तोकिएको छ ।
यद्यपि, माग बढेसँगै पछिल्ला बिक्री चरणहरूमा यी टिकटको मूल्य पनि बढ्दै गएका छन् । फिफाले विभिन्न चरणमा संशोधित मूल्यसहित टिकट बिक्री गरिरहेको छ । पोर्चुगल र कोलम्बियाबीच भएको समूह चरणको खेलको टिकटको मूल्य ३ हजार अमेरिकी डलरभन्दा माथिसम्म पुगेको थियो । त्यो खेल हेर्न अमेरिकी विदेशमन्त्री मार्को रूबियो र संघीय अनुसन्धान ब्युरोका निर्देशक काश पटेलसमेत पुगेका थिए ।
विश्वकपका अन्य नकआउट चरणका खेलका टिकट पनि सस्ता छैनन् । सोमबारसम्म फिफाले सूचीकरण गरेका अनुसार सेमिफाइनलको सबैभन्दा महँगो आधिकारिक टिकट ११ हजार १ सय ३० अमेरिकी डलर (करिब १६ लाख ७० हजार रुपैयाँ), क्वार्टरफाइनलको ५ हजार ३ सयल ५ अमेरिकी डलर (करिब ७ लाख ९६ हजार रुपैयाँ), राउन्ड अफ १६ को ३ हजार ७ सय ८० अमेरिकी डलर (करिब ५ लाख ६७ हजार रुपैयाँ) पुगेको छ।
रोयटर्सले जनाए अनुसार नकआउट चरणमा पोर्चुगल र क्रोयसियाबीच क्यानडाको टोरन्टोमा हुने खेलको सस्तो टिकट नै झन्डै ३ हजार मेरिकी डलरसम्म पुगिसकेको छ भने अमेरिकाले बोस्निया हर्जगोभिनाविरूद्ध सान्ता क्लारामा खेल्ने खेलको टिकट पनि २ हजार अमेरिकी डलरबाट उकालो लागेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । यस्तै मेक्सिकोले पहिलोपटक घरमै इक्वेडरविरूद्ध खेल्ने नकआउट खेल, मायमीमा हुने अर्जेन्टिना विरूद्ध केप भर्ड तथा लस एन्जल्समा हुने स्पेनविरूद्ध अस्ट्रिया खेलका टिकटहरू पनि उच्च माग छ ।
फिफाले यसपालि पहिलोपटक विश्वकपमा डाइनामिक प्राइसिङ प्रणाली लागू गरेको हो । यस प्रणालीअन्तर्गत टिकटको मूल्य स्थिर नरही मागअनुसार बढ्ने वा घट्ने गर्छ । फिफाका अनुसार यसले दोस्रो बजारमा हुने अत्यधिक नाफामुखी कारोबार नियन्त्रण गर्न सहयोग गर्छ । फिफाका प्रवक्ताका अनुसार झन्डै १ लाख ३० हजार विभिन्न खेलका टिकटहरू ६० अमेरिकी डलरमै पनि उपलब्ध गराइएका थिए ।
आलोचकहरूले भने यस्तो प्रणालीले सामान्य समर्थकका लागि विश्वकप हेर्न झन् महँगो बनाएको प्रतिकृया दिँदै आएका छन् । जर्मनी विरूद्ध आफ्नो देशको खेल हेर्न ५ जनाको परिवार सहित अमेरिका आएका इक्वेडरका एक समर्थकले रोयटर्सलाई दिएको विरवणअनुसरा टिकट र अन्य भ्रमण खर्चको लागि २२ हजार अमेरिकी डलर खर्च भएको छ ।
रोयटर्सका अनुसार विश्वकपका ३६ लाखभन्दा बढी टिकट बिक्री भइसकेका छन् । रंगशालाको औसत दर्शक उपस्थिति करिब ९९.६ प्रतिशत पुगेको छ । न्यु जर्सीमा हुने फाइनल, मेक्सिको सिटीमा भएको उद्घाटन खेल तथा अमेरिका, मेक्सिको, ब्राजिल, पोर्चुगल र अर्जेन्टिनाका खेलमा सबैभन्दा बढी माग देखिएको रोयटर्सले जनाएको छ ।
