केपीएलमा इटहरी सुपर किङ्सको ह्याट्रिक जित

मिल्स क्रिकेट क्लबलाई ८ विकेटले हराउँदै इटहरीले तीन खेलमा ६ अंकसहित शीर्ष स्थान कायम राखेको छ भने छिन्नमस्ता भारतको आरएमएललाई १४ रनले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ।

असार १५, २०८३

अर्जुन सुवेदी

Itahari Super Kings win hat-trick in KPL

सुनसरी — केपीएल कप अन्तर्राष्ट्रिय आमन्त्रण क्रिकेट प्रतियोगितामा इटहरी सुपर किङ्सले लगातार तेस्रो जित दर्ता गरेको छ । सोमबार भएको लिग चरणको आफ्नो तेस्रो खेलमा मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी बिराटनगरलाई ८ विकेटले पराजित गर्दै इटहरीले सहज जित निकालेको हो । 

जितका लागि १३४ रनको सामान्य लक्ष्य पछ्याएको इटहरीले मात्र १३.२ ओभरमा २ विकेट गुमाएर १३४ रन बनाउादै लक्ष्य पूरा गर्यो । इटहरीको जितमा शुभ कन्साकारले आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ७१ रन बनाए। उनले २ चौका र ६ छक्का प्रहार गर्दै १८६.८४ को स्ट्राइक रेटमा खेल्दै टोलीलाई जिततर्फ डोर्‍याए । यस्तै दीपक डुम्रे ३६ बलमा ५१ रन बनाई अविजित रहे । उनले १ चौका र ५ छक्का प्रहार गरे । दुवैले दोस्रो विकेटका लागि उत्कृष्ट साझेदारी गर्दै खेल एकतर्फी बनाएका थिए । 

ओपनर आकाश सर्राफ १ रनमा आउट हुादा सुजन थापालिया रन नखोली अविजित रहे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो । मिल्सका लागि रितिक कामतले ३२ रन बनाउदा इमरान शेखले ३१ र मुन्ना दासले नटआउट २८ रन जोडे । इटहरीका बलरहरूले विपक्षीलाई ठूलो स्कोर बनाउन नदिँदा ब्याटरहरूले लक्ष्य सहज रूपमा पछ्याए । लगातार तेस्रो जितसागै इटहरीले ३ खेलबाट ६ अंक जोडेको छ । 

सोमबार नै भएको दोस्रो खेलमा छिन्नमस्ता लायन्सले भारतको आरएमएल स्पोट्र्स एकेडेमीलाई १४ रनले पराजित गरेको छ । भोक्राहा नरसिंह गाउापालिका–४ स्थित डा. खलिल अजाद खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको छिन्नमस्ताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो ।

छिन्नमस्ताका लागि सन्तोष कार्कीले आक्रामक ब्याटिङ गर्दै ४२ बलमा ७३ रन बनाए । उनले २ चौका र ८ छक्का प्रहार गरे । त्यस्तै त्रितराज दासले ४९ बलमा ५४ रनको योगदान दिए । १६९ रनको लक्ष्य पछ्याएको आरएमएल स्पोट्र्स एकेडेमीले २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन मात्रै बनाउन सक्यो । उसका लागि अमरचन्द्रले ४९ रन जोड्दा अनुभव सिंहले ४० रन बनाए ।

आदित्य पाण्डेले २३ र चक्रधर द्विवेदीले १९ रन बटुले पनि त्यो जितको लागि पर्याप्त भएन । लक्ष्य पछ्याउने क्रममा भारतीय टोलीले सुरुआत राम्रो गरे पनि अन्तिम ओभरहरूमा रन गति सम्हाल्न नसक्दा हार बेहोर्न पुग्यो । यो जितसागै छिन्नमस्ता लायन्स २ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ ।

अंक तालिकामा भारतको एचपीसीए पटना २ खेलबाट २ अंकसहित तेस्रो स्थानमा छ भने केसीसी इन्डिया पनि समान २ अंकसहित चौथो स्थानमा रहेको छ । मिल्स क्रिकेट क्लब दुई खेलमा हार व्यहोर्दै अंकविहीन रहादा पाँचौं स्थानमा छ । लगातार तीन खेल हारेको आरएमएल स्पोटर्स एकेडेमी पनि अंकविहीन रहँदै पुछारमा पुगेको छ ।

तीन भारतीयसहित ६ टोली सहभागी प्रतियोगिताको बिजेताले २ लाख ५१ हजार, दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुने टिमले ५० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल २३ गते खेलाइने आयोजक केपीएल ग्रुपका अध्यक्ष अफजल हुसेनले जानकारी दिए ।  

अर्जुन

Link copied successfully