शैक्षिक परामर्शको कार्य गर्दै आएको इलाइट मुभर्सले आइतबार २० वर्षे खेलाडी अर्जुनसँग २ वर्षका लागि यो प्रायोजन सम्झौता गरेको हो ।
What you should know
काठमाडौँ — राष्ट्रिय क्रिकेट खेलाडी अर्जुन कुमाल इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सी प्रालिले ब्रान्ड एम्बासडरमा नियुक्त गरेका छन् । शैक्षिक परामर्शको कार्य गर्दै आएको इलाइट मुभर्सले आइतबार २० वर्षे खेलाडी अर्जुनसँग २ वर्षका लागि यो प्रायोजन सम्झौता गरेको हो ।
आपसी समा यो सम्झौता प्रत्येक वर्ष नवीकरण गरिँदैं लगिने इलाइट मुभर्स एजुकेसनका प्रमुख उद्धव वनले जनाए । अर्जुनले यस वर्ष घरेलु क्रिकेटमा ५ शतक प्रहार गरिसकेका छन् । अर्जुन नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजन सुदूरपश्चिम रोयल्समा थिए भने गत सिजन उनले पोखरा एभेन्जर्सबाट खेलेका थिए । उनी प्रधानमन्त्री (पीएम) कपमा लगातार दुई सिजन सर्वाधिक रन बनाएर मोटरसाइकल पुरस्कार जित्दै आएका छन् ।
सम्झौता कार्यक्रममा वनले भने, ‘क्रिकेट हाम्रो एउटा संस्कार भइसकेको छ, हामी क्रिकेटबाट बाहिर रहन सक्दैनौं, कहीं न कहीं नेपाली क्रिकेटसँग जोडिने प्रयासमा हामीले अर्जुन कुमालसँग सम्झौता गरेका छौं । उनी युवा खेलाडी हुन्, उनले अझ राम्रो खेल्न सहज होस् भनेर हामीले यो सम्झौता गरेका हौं, हाम्रो कम्पनीले युवालक्षित कार्य गर्दै आएको छ, त्यही भएर अर्जुनसँग काम गर्दा हामीले ती युवालाई सम्बोधन गर्न सक्छौं जस्तो लाग्छ ।’
इलाइट मुभर्स एजुकेसनले यसअघि राष्ट्रिय क्रिकेट खेलाडी आसिफ शेखसँग सम्झौता गरेको थियो । युवा ओपनिङ ब्याटर अर्जुनले हालै नेपाली राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए । उनले विश्वकप क्रिकेट लिग २ मा यूएईविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा पाइला अगाडि बढाएका हुन् । त्यसपछिको अर्को खेलमा उनले ओमानविरुद्ध ४८ रन बनाएका थिए । उनी नेपाल यू–१९, नेपाल ‘ए’ हुँदैं राष्ट्रिय टोलीमा पुगेका हुन् ।
दक्षिण अफ्रिकामा भएको आईसीसी यु–१९ विश्वकपमा अर्जुनले न्युजिल्यान्डविरुद्ध १०४ बलमा ९०, पाकिस्तानविरुद्ध ३७ बलमा २१ र अफगानिस्तानविरुद्ध १०८ बलमा ९१ रन बनाएका थिए । विश्वकप अघि मलेसियामा भएको एसीसी यु–१९ प्रिमियर कपमा अर्जुनले साउदी अरेबियाविरुद्ध १ सय ४३ रन बनाएका थिए । त्यसपछि पाकिस्तानविरुद्ध एसीसी यु–१९ एसिया कपमा १०८ बल खेली ९१ रन बनाएका थिए ।
उनले पछिल्लो ५ वर्षदेखि पीएम कप खेल्दै आएका छन् । गत वर्षदेखि उनले प्रमुख गरी लय लिन लागेका हुन् । सन् २०२५ को संस्करणमा उनले एक शतकसहित सर्वाधिक ३ सय ७४ रन बनाएका थिए । उनले सोक्रममा कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेललाई उछिने । यस वर्ष त उनी धेरै अगाडि बढे । एकै संस्करणमा ५ सय रन बनाउने पहिलो खेलाडी बने । अर्जुनले ९ खेलमा २ शतकसहित कुल ५ सय ४ रन बनाए । कोशी प्रदेशविरुद्ध उनले १ सय २ र लुम्बिनीविरुद्ध अविजित १ सय ३ रन बनाएका थिए ।
‘म जस्तो युवा खेलाडीलाई यस्तो व्यावसासिक सम्झौताले ठूलो हौसला प्रदान गर्दै राम्रो खेल्न प्रेरित गर्दछ, खेलमा केन्द्रित भएर खेल्न पाइन्छ । हाम्रो देशमा क्रिकेटको माहोल अझ राम्रो हुँदैं छ र खेलाडीमाथि गरिएको यस्तो लगानीले नेपाली क्रिकेटलाई मजबुत बनाउन ठूलो सहयोग पुग्ने मैले विश्वास लिएको छु,’ अर्जुनले कार्यक्रममा भने ।
सोही अवसरमा नेपाली क्रिकेटमा दुई दशकभन्दा बढी योगदान दिएकोमा क्रिकेटर शरद भेषावकरलाई पनि सम्मान गरिएको थियो ।
