फ्रान्स र नर्वे पहिलो दुई खेल जितेर यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेका छन् । त्यसैले यो खेल जित्ने टोली समूह ‘आई’ को विजेता बन्ने छ ।
What you should know
बस्टन — विश्वकप फुटबलको शुक्रबार राति १२:४५ को खेलमा फ्रान्स र नर्वे प्रतिस्पर्धा गर्ने भएको छ । धेरैले यसलाई वर्तमान विश्व फुटबलका दुई युवा स्ट्राइकर किलियन एम्बाप्पे र इर्लिङ हालान्डबीचको प्रतिस्पर्धाको रुपमा पनि हेरेका छन् ।
फ्रान्स र नर्वे पहिलो दुई खेल जितेर यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेका छन् । त्यसैले यो खेल जित्ने टोली समूह ‘आई’ को विजेता बन्ने छ । यसै समूहको अर्को खेलमा सेनेगल र इराक प्रतिस्पर्धा गर्दै छन् । दुवैले पहिलो दुई खेल हारिसकेका छन् र अर्को चरणमा पुग्ने आशालाई जीवितै राख्न ठूलो विजय हात पार्नु पर्नेछ ।
तर बोस्टनमा हुने खेलमा धेरैको ध्यान भने २७ वर्षे एम्बाप्पे र हालान्डमा छ । अर्जेन्टिनाका लियोनेल मेसीले प्रतियोगितामा सर्वाधिक चार गोल गरेका छन् । उनलाई पछ्याउने क्रममा ब्राजिलका भिनिसियस जुनियरसहित एम्बाप्पे र २५ वर्षे हालान्डले ४–४ गोल गरेका छन् ।
एम्बाप्पे र हालान्डले पहिलो दुई खेलमा २–२ गोल गरेका थिए । एम्बाप्पेले फ्रान्सलाई २०१८ को विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए भने ४ वर्ष अगाडि कतारमा पनि उनले ८ गोल गरेका थिए । तर फ्रान्स फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा पराजित भयो ।
हालान्ड भने पहिलो पटक विश्वकप खेलिरहेका छन् । उनले नर्वेबाट पछिल्ला १२ खेलमा लगातार गोल गर्दै आएका छन्, जसमा पछिल्लो ६ खेलमा १६ गोल गरिसकेका छन् । यसै विश्वकपमा आफ्नो गोल संख्या थप्दै एम्बाप्पे फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए । उनले १ सय खेलमा ६० गोल गरिसकेका छन् ।
राष्ट्रका लागि खेल्दा एम्बाप्पेभन्दा हालान्ड अझ प्रभावकारी देखिएका छन् । उनले नर्वेबाट ५८ खेलमा ५९ गोल गरिसकेका छन् ।
