नेपालले तयारीको क्रममा इंग्ल्यान्ड र जर्सीमा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।
काठमाडौँ — रोहित पौडेलको कप्तानीमा नेपालले बेलायत र नेदरल्यान्ड्स भ्रमणका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपालले नेदरल्यान्ड्स गएर नामिबिया सम्मिलित विश्वकप क्रिकेट लिग-२ को खेल खेल्ने तालिका रहेको छ ।
रोहितसहित नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् ।
त्यस्तै शाहब आलम, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री र सन्दीप जोरालाई वैकल्पिकमा राखिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
नेपालले नेदरल्यान्ड्समा जुलाई २१ मा नामिबियासँग पहिलो खेल खेल्ने छ । त्यसपछि नेदरल्यान्ड्ससँग जुलाई २३ मा, नामिबियाविरुद्ध जुलाई २७ मा र नेदरल्यान्ड्सविरुद्ध जुलाई २९ मा खेल्ने कार्यक्रम रहेको छ । लिग २ मा नेपालको यो दोस्रो अन्तिम शृंखला हो ।
त्यसअघि नेपालले तयारीको क्रममा इंग्ल्यान्ड र जर्सीमा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । नेपालले जुलाई १३ र १५ मा जर्सीसँग दुई ५० ओभरको खेल खेल्ने तालिका रहेको छ । नेपालले ब्रिटिस टापु जर्सीमा २००८ पछि भ्रमण गर्न लागेको हो ।
