रोनाल्डो ६ फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
What you should know
ह्युस्टन — क्रिस्टियानो रोनाल्डोको दुई गोलबाट प्रेरित पोर्चुगलले ह्युस्टनमा मंगलबार उज्वेकिस्तानलाई ५–० गोलले पराजित गरेको छ । यसले पोर्चुगलको नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।
डीआर कंगोसँग गोलरहित बराबरीमा रोकिएपछि आलोचनाको सिकार बनेको पोर्चुगल र रोनाल्डोले खेलको छैटौं मिनेटमा अग्रता लिएका थिए। रोनाल्डोले जाओ कानसेलोको पासलाई सदुपयोग गर्दै छैटौं मिनेटमा गोल गरेका हुन् । साथै रोनाल्डो ६ फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । नुनो मेन्डेजले १७ औं मिनेटमा फ्रिकिकबाट पोर्चुगलका लागि दोस्रो गोल गरे ।
यही खेलबाट रोनाल्डो विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा संयुक्त रूपमा तेस्रो स्थानमा आएका छन् । उनको यो २४ औं खेल थियो । उनीभन्दा अगाडि अर्जेन्टिनाका लियोनेल मेसी (२८) र जर्मनीका लोथर म्याथस (२५) छन् । जर्मनीका मिरोस्लाभ क्लोसले २४ नै खेलेका छन् भने इटालीका पाउलो माल्डिनीले विश्वकपमा २३ खेल खेलेका छन् । 
रोनाल्डोले ३९ औं मिनेटमा पोर्चुगलबाट तेस्रो गोल गरे । खेलमा उनको यो दोस्रो र विश्वकप इतिहासमा १० औं गोल हो । इसेबाउले पोर्चुगलबाट विश्वकपमा सर्वाधिक ९ गोल गरेको कीर्तिमानलाई रोनाल्डोले उछिनेका छन् ।
पोर्चुगलले ६० औं मिनेटमा चौथो गोल गरेको थियो । यसपटक उज्वेकिस्तानका नेमाटोभले आत्मघाती गोल गर्न पुगे । वैकल्पिक राफेल लिओले पोर्चुगलबाट ८७ औं मिनेटमा पाँचौं गोल गरे ।
इटालीलाई २००६ को विश्वकप उपाधि दिलाएका कप्तान फाबियो कानाभारोको प्रशिक्षणमा रहेको उज्वेकिस्तान लगातार दोस्रो खेलमा पराजित भएको छ। पहिलो पटक विश्वकप खेलिरहेको उज्वेकिस्तानले डीआर कंगोसँग समूह चरणको आफ्नो अन्तिम खेल खेल्ने छ ।
