विश्वकप फुटबलमा यो मीठो संयोग रह्यो, एकै दिन लियोनल मेसी, केलियन एमबाप्पे र इर्लिङ हालान्ड चम्किएका छन् ।
What you should know
इस्ट रडरफोर्ड — विश्वकप फुटबलमा यो मीठो संयोग रह्यो, एकै दिन लियोनल मेसी, केलियन एमबाप्पे र इर्लिङ हालान्ड चम्किएका छन् । उनीहरूको प्रदर्शनले विश्वकप रोमाञ्चक बनेको छ । यिनै तीन खेलाडी सर्वाधिक गोलकर्ताको होडमा पनि सामेल छन् ।
हालान्डले नर्वेका लागि दोस्रो हाफमा १५ मिनेटको अन्तरमा सेनेगेलविरुद्ध दुई गोल गरे । उनको एक प्रहार पोस्टमा लागेको थियो भने एक अर्को प्रहार बल्लतल्ल रोकिएको थियो । हालान्डको यो प्रदर्शनको केही घण्टाअगाडि मेसीले अर्जेन्टिना र एमबाप्पेले फ्रान्सका लागि यस्तै सुन्दर दुई गोलको प्रदर्शन गरेका थिए । विश्व फुटबलका यी तीन ठूला स्टारले संयुक्त रूपमा १३ गोल गरिसकेका छन् ।
दिनको सुरुआत मेसीको खेलबाट सुरु भएको थियो । यसक्रममा उनी विश्वकपमा सबैभन्दा बढी १८ गोल गर्ने खेलाडी बने । त्यसमै टिकेर अर्जेन्टिनाले एर्लिङ्टनमा अस्ट्रियालाई २–० ले हरायो । मेसीले दुई खेलमा गरेको गोलसंख्या अहिले नै ५ पुगिसकेको छ । फ्रान्सले इराकर्लाइ ३–० ले हराउँदाको खेलपछि विश्वकपमा एमबाप्पेको गोलसंख्या १६ पुगेको छ । उनले यसक्रममा जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको कीर्तिमान बराबरी गरेका छन् ।
हालान्डको भने विश्वकपमा गरेको गोल संख्या भर्खर ४ पुगेको छ । खासमा उनी पहिलो पटक विश्वकप खेलिरहेका छन् । नर्वे आफैं सन् १९९८ यता पहिलो पटक विश्वकप खेलिरहेको छ । यो हालान्ड जन्मनु भन्दा दुई वर्षअगाडिको कुरा भयो । हालान्डसामु मेसी र एमबाप्पेलाई पछ्याउने अवसर हुनेछ । किनभने उनी अर्को महिना २६ वर्ष हुनेक्रममा छन् । यी हालान्ड ६ फिट ५ इन्च अग्ला छन् । उनले नर्वेका लागि लगातार १२ खेलमा गोल गरिसकेका छन् ।
मेसी भने अहिले छैटौं विश्वकप खेलिरहेका छन् । उनले सन् २००६ को आफ्नो डेब्यु विश्वकपमा एक गोल गरेका थिए । सन् २०१० मा उनी गोल गर्न चुके । सन् २०१४ मा उनले ४ गोल गरे भने २०१८ मा एक । सन् २०२२ मा अर्जेन्टिनाले विश्वकप जित्दा उनको ७ गोलको योगदान रहेको थियो ।
फ्रान्सेली स्टार एमबाप्पेको भने यो तेस्रो विश्वकप हो । यसअघिका दुवै विश्वकपमा उनले फाइनल खेल्ने सौभाग्य पाए । त्यसमध्ये सन् २०१८ मै उनले उपाधि चुम्ने अवसर पाएका थिए । त्यो विश्वकपमा उनले ४ गोल गरेका थिए । पछिल्लो विश्वकपमा भने उनले ८ गोल गरेर उपविजेतामै चित्त बुझाए । तय छ, एमबाप्पेसँग विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको कीर्तिमान राख्ने मौका बढी हुनेछ ।
जर्मनीका क्लोजले भने चार विश्वकप खेलेर १६ गोलको कीर्तिमान बनाएका हुन् । यो लामो समयसम्म कायम रह्यो । उनले सन् २००२ को विश्वकपमा ५ गोल गरे । लगत्तै सन् २००६ को विश्वकपमा पनि ५ गोल गरे । यो क्रम सन् २०१० को विश्वकपमा ४ गोल रह्यो । सन् २०१४ मा उनले अन्तिम पटक विश्वकप खेले र त्यसमा २ गोल गरेका थिए ।
