पोखराले मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भरतपुर महानगरपालिकालाई ६ रनले पराजित गरेको छ ।
What you should know
काठमाडौँ — पोखरा महानगरपालिकाले पीएल सिंह मेमोरियल टी२० कप क्रिकेटमा लगातार तेस्रो विजय हात पारेको छ । पोखराले मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भरतपुर महानगरपालिकालाई ६ रनले पराजित गरेको छ ।
पहिला ब्याटिङ गरेको भरतपुर १८.४ ओभरमा १ सय २३ रन मा अलआउट भयो । ओपनर शुभ कंसाकारले २२ बलमा ३०, सूर्यान्शु कोइराला, गौतम केसी र योगेश बहादुर भाटले समान १७–१७ रन बनाए । पोखराबाट सुदिप अर्याल, अपराजित पौडेल, कृष्ण पौडेल र सुवास भण्डारी २–२ विकेट लिए ।
पोखराले १८.१ ओभरमा लक्ष्य पूरा गर्यो । मुस्कान थापामगरले ४६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ५१ रन बनाए । उनी नै प्लेयर अफ दि म्याच भए । दीपक डुम्रे २३, करण पंगेनी १७ र अर्जुन कुमाल १२ रनमा आउट भए । सन्दीप खत्रीक्षेत्री ७ बल खेली २ छक्का प्रहार गरी १५ रनमा अविजित रहे । भरतपुरबाट गौतम केसी, शुभ र प्रतिक श्रेष्ठले १–१ विकेट लिए ।
दोस्रो खेलमा वीरगन्ज महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ५८ रनले पराजित गर्यो । ३ खेलमा आएर वीरगन्जले पहिलो विजय हात पारेको हो । वीरगन्जले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन बनायो । पवन सर्राफले ४४ बलमा ६३ रन जोडे । प्लेयर अफ द म्याच उनले ५ चौका र ३ छक्का प्रहार गरे । कप्तान अनिल कुमार साह १७ रनमा आउट भए । विराटनगरका प्रतिक पोखरेल र दिपेश कँडेलले २–२ विकेट लिए ।
जबाफमा विराटनगर १८ ओभरमा मात्र ७७ रनमा अलआउट भयो । विराटनगरका प्रेम कामतले अविजित २३ र दिपेश कँडेलले १५ रन बनाए । वीरगन्जका विशाल पटेलले ४ ओभरमा १० रनमात्र खर्चेर ४ विकेट लिए । पवनले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए ।
