विश्वकप जित्ने महत्त्वाकांक्षामा अमेरिका

बास्केटबल र बेसबल बढी लोकप्रिय रहेको अमेरिकामा अहिले फुटबलको चर्चा बढ्दो छ ।

असार ८, २०८३

कान्तिपुर संवाददाता

America's ambition to win the World Cup

काठमाडौँ — आयोजक अमेरिका के विश्वकप जित्न सक्षम छ त ? यस विश्वकपका सुरुआती दुई खेल जितेर अमेरिकाले केही छाँटकाँट भने देखाएको छ । यी दुई खेलको समग्रमा स्कोर थियो, ६–१ । यत्तिको प्रदर्शनपछि अघिकै प्रश्न युएस टेलिभिजनमा फुटबल पण्डितका रूपमा प्रस्तुत भइरहेका ज्लाटन इब्राहिमोभिचलाई पनि सोधिएको थियो । उनको एकै शब्दको उत्तर थियो, ‘सक्छ ।’

स्पेन, फ्रान्स र अर्जेन्टिना जस्ता पारम्परिक महाशक्तिको अगाडि अमेरिका अझै पनि ‘अन्डरडग’ नै रहेको छ । तर शुक्रबारको खेलमा अस्ट्रेलियालाई २–० ले हराएपछि अमेरिकाको महत्त्वाकांक्षा एकाएक बढेको छ । अमेरिकी खेलाडी सबै उत्साही देखिएका छन् । मिडफिल्डर मलिक टिलमन भन्छन्, ‘हामीलाई एकपछि अर्को गरी सबै खेल जित्नु छ । हामी जित्नकै लागि त खेलिरहेका छौं ।’

उनले थपे, ‘विश्वकप उपाधि जित्ने नै हो भने हामीले प्रतियोगिताका सबै खेल जित्नुपर्नेछ, यही हो सूत्र । अब यही हाम्रो लक्ष्य हुनेछ ।’ पाराग्वेविरुद्धको खेलमा मात्र अमेरिकाले केही चुनौतीको सामना गरेको थियो, तर त्यही खेलमा टोली ४–१ को जित निकाल्न सफल रह्यो । अमेरिकाले अबको खेलमा टर्कीको सामना गर्नेछ । त्यो वास्तवमै दुवै टिमका लागि ‘डेड रबर’ मात्र रहेको छ ।

अमेरिकाका लागि नकआउट चरणको पहिलो खेल नै कठिन रहनेछ । किनभने सम्भवतः अन्तिम ३२ मा अमेरिकाको प्रतिद्वन्द्वी हुनसक्छ बेल्जियम वा स्पेन । पूरा विश्वकप इतिहासमै अमेरिकाले अहिलेसम्मै एकै नकआउट चरणको खेल जितेको छ । यो सन् २००२ मा सम्भव भएको थियो । त्यतिबेला अमेरिकाले मेक्सिकोलाई २–० ले हराएर अन्तिम १६ सम्म यात्रा तय गरेको थियो ।

यो नै आधुनिक विश्वकपमा अमेरिकाको अहिलेसम्मको राम्रो प्रदर्शन थियो । घरेलु मैदानमा आयोजक देशले विश्वकप जित्ने सम्भावना भने बाक्लो रहेको छ । त्यसमध्ये सबैभन्दा पछिल्लो विश्वकप सन् १९९८ को रहेको छ । त्यति बेला फ्रान्सले प्रतियोगिता जितेको थियो । खासमा अहिलेसम्म ६ टिमले आफ्नो घरमा भएको विश्वकप जितेको छ अनि ती टिमसामु कम्तीमा तीनपल्ट घरमा फाइनल खेलेको इतिहास छ ।

ती विजेतामध्ये अमेरिका नै त्यस्तो एक्लो देश रहेको छ, जहाँ फुटबलभन्दा बास्केटबल र बेसबल बढी लोकप्रिय छ । तर अहिले फुटबल अमेरिकामा तीव्र गतिमा लोकप्रिय भइरहेको छ । अमेरिकालाई ढिलोचाँडो सम्भावित विजेता मानिएको छ । यसको एउटै कारण अमेरिकामा मेजर लिग सकरको बढ्दो विस्तार पनि हो । यसैले एलेक्स फ्रिमन जस्ता अगाडि खेल्ने प्रतिभाशाली खेलाडी जन्माएको छ ।

अहिले अमेरिकी टिमलाई स्वर्णिम पुस्ताका खेलाडी हुर्किरहेका छन् भन्दा त्यो सत्य साबित हुनसक्छ । किनभने तिनीहरूमध्ये क्रिस्टियन पुलिसिचले एसी मिलान, वेस्ट म्याकेन्जीले युभेन्ट्स र टिलमनले बायर लेभरकुजन जस्ता ठूलो क्लबबाट खेलिरहेका छन् । अमेरिकी फुटबलका लागि प्रशिक्षकमा माउरिसियो पोचेटिनो भित्र्याउनु पनि ठूलो निर्णय रहेको छ । उनले नै अमेरिकी टिमलाई पुनर्निर्माण गरिरहेका छन् ।

क्रिस्टल प्यालेसका सेन्टर हाफ क्रिस रिचर्डसले भर्खरै मात्र टोटनहम, चेल्सी र पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व प्रशिक्षकको प्रशंसा गरेका छन् । उनी आफ्ना खेलाडीलाई उत्साही गर्न माहिर मानिन्छन् । रिचर्डस भन्छन्, ‘पोचेटिनोले ठूला क्लब सम्हालिसकेका छन् अनि हामीसँग काम गर्दा निकै गम्भीर छन् । यसको असर अब देखिन थालेको छ । हामी सबै खेलाडी अहिले उनकै रणनीतिलाई सफलतापूर्वक मैदानमा लागू गर्न लागिपरेका छौं ।’

पोचेटिनोले आफ्ना खेलाडीलाई एक पाइला मैदानमै राख्ने र खेलमै मात्र केन्द्रित हुन पनि भनेका छन् । तर उनको यस्तो भनाइ पनि रहेको छ, ‘हामी मात्र किन च्याम्पियन हुन सक्दैनौं र ?’

त्यसैले रिचर्डस पनि मान्छन्, विश्वकप इतिहासमै अमेरिका उपाधि जितेर अहिलेसम्मकै सबैभन्दा ठूलो स्तब्धपूर्ण नतिजा निकाल्न सक्षम छ । उनी भन्छन्, ‘पक्कै पनि अहिले हाम्रो ध्यान अबको खेलमा मात्र छ । तर त्यसको अर्थ के होइन भने हामी विश्वकप जित्न चाहँदैनौं ।’

कान्तिपुर

Link copied successfully