विश्वकपकी एकमात्र महिला डाक्टर

डाक्टर सुजान हुर्मान जनसंख्या र आकारको हिसाबले विश्वकप खेल्ने सबैभन्दा सानो टोली कुरासाओको राष्ट्रिय पुरुष टोलीको मेडिकल स्टाफ प्रमुखको रूपमा कार्यरत छन् ।

असार ७, २०८३

बीबीसी

The only female doctor of the World Cup

What you should know

कान्सास — एक महिला र ४७ पुरुष । यो विश्वकप २०२६ मा मेडिकल स्टाफको विवरण हो । डाक्टर सुजान हुर्मान जनसंख्या र आकारको हिसाबले विश्वकप खेल्ने सबैभन्दा सानो टोली कुरासाओको राष्ट्रिय पुरुष टोलीको मेडिकल स्टाफ प्रमुखको रूपमा कार्यरत छन् । ९६ वर्षे विश्वकप इतिहासमा उनी तेस्रो महिला टोली डाक्टर हुन् । 

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा डा. सेलेस्ट गेर्टसेले न्युजिल्यान्डको पुरुष राष्ट्रिय टोलीमा काम गरेकी थिइन् । उनी पुरुष विश्वकपमा काम गर्ने पहिलो महिला डाक्टर बनेकी थिइन् । डा. सिल्जा स्वार्ज २०२३ देखि जर्मनी पुरुष टोलीको टोली डाक्टर रहेकी छन् । 

फिफाले डाक्टर हुर्मान यस विश्वकपमा मेडिकल स्टाफकी एकमात्र महिला प्रमुख भएको जनाएको छ । तर उनले यसबारे धेरै सोचेकी छैनन् । ‘मैले सुरुमा महसुस नै गरिनँ किनभने कोठामा एकमात्र वा केही महिलामा हुनु भनेको बिल्कुलै सामान्य विषय हो,’ हुर्मानले भनिन्, ‘तर म चाँडै बढी महिलाहरू देख्ने आशा गर्छु किनभने त्यहाँ धेरै बढी सक्षम महिला छन् ।’

बीबीसी स्पोर्टले डा. हुर्मानसँग फुटबलमा महिला प्रतिनिधित्व बढाउन के आवश्यक छ, अवसर र चुनौतीहरू के छन् भनेर कुरा गरेको छ । ब्राजिलमा जन्मेकी डा. हुर्मानले रियल म्याड्रिड, गो अहेड इगल्स र पीएसभी आइन्डहोभेनसँग काम गरेकी छन् साथै उनले नेदरल्यान्ड्स यू–१६ ब्वाइज टिमको मेडिकल प्रमुख र डच महिला ह्यान्डबल टोलीकी पनि डाक्टर बनेकी थिइन् । 

कुरासाओको जनसंख्या करिब १ लाख ५८ हजार छ । यो क्यारेबियन टापु नेदरल्यान्ड्सको एउटा हिस्सा हो । सांस्कृतिक रूपमा पनि डच प्रभावित छ । तर यो पूर्ण सार्वभौम राज्य होइन । छनोट चरणमा ७ जित र ३ बराबरीसँगै कुरासाओले विश्वकप यात्रा तय गरेको थियो । 

डा. हुर्मान पुरुष प्रधान क्षेत्रमा काम गर्दा डराउँदिनन् । यद्यपि उनी चुनौतीहरू रहेको सुनाउँछिन् । ‘यदि तपाईं सक्षम हुनुहुन्छ र तपाईंले गर्ने काममा राम्रो हुनुहुन्छ भन्ने हो भने त्यो स्वीकार्न सजिलो हुन्छ किनभने यो गुणस्तर र प्रदर्शनबारेमा हो । यदि उनीहरूले देख्छन् तपाईं सक्षम हुनुहुन्छ । तपाईंका लक्ष्यहरू उस्तै छन् भने त्यसले उनीहरूलाई प्रभाव पार्नेछ,’ हुर्मानले भनिन्, ‘तर तपाईंले आफूलाई प्रमाणित गर्नुपर्छ । सुरुमा प्रवेश पाउन गाह्रो हुन्छ किनभने सुरुमा सधैं धेरै मानिसले भन्छन्, यो सम्भव छैन । महिलाहरू कसरी त्यो वातावरणमा काम गर्न सक्छन् ?’

उनले अगाडि भनिन्, ‘कुरासाओसँग फुटबल संघमा पूरै पुरुष मात्र थियो । महिला थिएनन्, मेडिकल टोलीमा मात्र होइन, जुनसुकै क्षेत्रमा पनि । हामी खेलाडी र स्टाफ गरेर ४९ जना सँगै विश्वकपमा आएका छौं, टोलीमा म एक्ली महिला हुँ ।’

डाक्टर हुर्मानले २००८ मा नेदरल्यान्ड्समा चिकित्सा अध्ययन गरिन् । उनी आफ्नो कोर्समा लिङ्ग विभाजनमा महिला बढी भएको कुरा स्मरण गछिन् । ‘जब मैले चिकित्सा अध्ययन गरिरहेको थिएँ, त्यहाँ करिब ७०–७५ प्रतिशत महिला थिए र बाँकी पुरुष,’ उनले सुनाइनन्, ‘मैले २०१४ मा खेलकुद चिकित्सा विषयमा विशेषज्ञता गरें र त्यसपछि त्यसले विपरीत झुकाव देखायो, किनभने त्यहाँ केवल २०–३० प्रतिशतमात्र महिला थिए । विशेष गरी खेलकुदमा मैले फरक देख्दै आएको छु ।’

सन् २०२३ को महिला विश्वकपमा फुटबलमा सबै महिला डाक्टरहरू मात्र थिएनन् । इंग्ल्यान्ड र स्विडेन त्यस्ता राष्ट्र थिए, जसमा टोलीका डाक्टर पुरुष थिए । फुटबलमा काम गर्ने महिला डाक्टर थोरै किन छन् भन्ने प्रश्नमा हुर्मानले सधैं सक्रिय संस्कृतिलाई बाधा भनेर भन्दा यस्तो हुन सक्ने बताउँछिन् । 

‘यो तपाईंको क्षमतामात्र होइन, यदि व्यावसायिक हिसाबमा राम्रो हुनुहुन्छ भने त्यो एउटा पक्ष हो, तर यात्रा, जीवनशैलीले व्यक्तिगत जीवनलाई असर गर्न सक्छ,’ उनले भनिन्, ‘तपाईंको परिवार छ वा गर्भवती हुनुहुन्छ भने निश्चित समयका लागि तपाई कामबाट बाहिर हुनुपर्छ । किनकि यसलाई पेसागत फुटबल सिजनसँग मिलाउन सक्नुहुन्न । यो केवल फुटबलमा मात्र होइन । सम्पूर्ण उच्चस्तरको खेलकुद दुनियाँ हो, जहाँ तपाईंको काम चौबिसै घन्टा र सातै दिन माग रहने गर्छ ।’

बीबीसी

Link copied successfully